Author: नेपाल राज्य
काठमाडौं – आगामी ०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले निर्वाचन खर्च मितव्ययी हुनेतर्फ पनि जोड दिँदै आयोगलाई तयारीका सम्पूर्ण काम ढिला नगरी अघि बढाउन आग्रह गरिन्। उनका अनुसार सरकारबाट आयोगलाई आवश्यक स्रोतसाधन, जनशक्ति र भरपर्दो शान्ति–सुरक्षाको व्यवस्था मिलाइनेछ। साथै, निर्वाचनलाई सहज बनाउन राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरिने पनि उनले स्पष्ट पारिन्। आयोगतर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक मतपेटिका र…
काठमाडौं- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको सन्देशलाई आत्मसात गर्दै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। धुलाबारीमा भएको कार्यक्रममा उनले समयसँगै नेता, संयन्त्रदेखि गाउँ–गाउँको संरचना बदलिनुपर्ने बताए। बदलिन सक्नेले नेतृत्व लिने र नसक्नेले बिदा हुने उनको भनाइ थियो। जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध कठोर कदम, नेतृत्व परिवर्तन र लोकतान्त्रिक चेतना बलियो बनाउने सन्देश दिएको भन्दै उनले गोली चलाउनेदेखि आगजनी गर्नेहरूमाथि छानबिन र कडा कानुनी कारबाही गर्न माग गरे। शर्माले तोडफोडमा परेको पार्टी कार्यालय र आफ्नै निवास पनि अवलोकन गरेका छन्।
काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित युवा र विद्यार्थी भेटघाट कार्यक्रममा ओलीले भने, “जो पहिलेदेखि नै सिंहदरबार जलाउँछु भन्थे, उनीहरूकै योजनामा यो घटना भएको हो।” उनले देशप्रेमीले यस्तो हिंसात्मक कार्य गर्न नसक्ने भन्दै थपे, “जसले देश र इतिहास माया गर्छ, उसले सिंहदरबार जलाउँदैन।” ओलीले हालैको घटनाले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलो भएको र विदेशमा नेपालीलाई भिसा तथा रोजगारी पाउनसमेत कठिनाइ भएको दाबी गरे। उनले युवालाई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्न आह्वान गर्दै बाह्य हस्तक्षेप र षड्यन्त्रबाट सचेत रहन आग्रह गरे।…
काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका युवराज क्याप्छाकी रहेका छन्। गत भदौ २४ गते महाराजगञ्जस्थित प्रहरी वृत्तमा आन्दोलनकारीहरूले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानमा जुटेको प्रहरीले क्याप्छाकीलाई चिनेर पक्राउ गरेको हो। प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउने जनाएको छ।
काठमाडौं – संयुक्त अरब इमिरेट्समा चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासका अनुसार साउनमा ३२ र भदौमा १९ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा ६२ नेपालीको ज्यान गएको थियो। २०८१/८२ मा कुल ३१२ र २०८०/८१ मा २३१ जनाले यूएईमा प्राण गुमाएका थिए। सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटु सम्बन्धी रोग प्रमुख कारण भएको दूतावासले जनाएको छ।
लक्ष्मी खनाल – अर्घाखाँची । श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालयकी कुशल शिक्षिका बसन्ता भुसालले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गर्नुभएको दुर्गा प्रसाद यमकला भुसाल अक्षयकोष बाट प्राप्त व्याजद्वारा २०८२ सालका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा प्रावि, निमावि र मावि तहका दुई–दुई जना गरी ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। गत वर्ष (२०८१) मा मावि तहबाट SEE जिल्ला प्रथम विद्यार्थी पूर्णिमा खनाल र प्रफिट अधिकारी, निमावि तहबाट सन्ध्या पोखरेल र सरद भुसाल तथा प्रावि तहबाट वर्षा मुखिया र जेनिस चौहानलाई छात्रवृत्ति वितरण गरिएको थियो।
अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले अर्घाखाँची मात्र नभई समग्र समाज नै अपूरणीय क्षतिकाे सामना गर्नुपरेको भन्दै गहिरो दुःख प्रकट गरेका छन्। शनिबार नेकपा (एमाले) जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले श्रेष्ठलाई “जिल्लाका असल अभिभावक र आफ्ना व्यक्तिगत जीवनका मार्गदर्शक” का रूपमा स्मरण गरे। “कठिन घडीमा उहाँले सदैव ऊर्जा र प्रेरणा दिनुभयो,” भावुक हुँदै मुख्यमन्त्री आचार्यले भने। श्रेष्ठले सन्धिखर्कलाई सदरमुकाम बनाउनदेखि बजार विस्तार, विद्यालय स्थापना, धार्मिक स्थल र पूर्वाधार विकाससम्म महत्वपूर्ण योगदान गरेको स्मरण वक्ताहरूले गरे। लामो समय वडाध्यक्ष र उपप्रधानपंचको भूमिकामा रहेर उनले प्रशासनिक केन्द्र सन्धिखर्क ल्याउन निर्णायक काम…
काठमाडौं – भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी विद्रोह भएको १५ दिन नपुग्दै दैलेखमा एक सरकारी कर्मचारी घुससहित हिजो साझ पक्राउ परेका छन् । दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् । उनले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीबाट एक लाख रूपैयाँ घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल, काठमाडौँ र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट कार्कीलाई रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उजुरी र सूचना प्राप्त भएपछि स्टिङ अपरेसनमार्फत उनलाई पक्राउ गरिएको हो।
काठमाडौं – संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले हालै भदौ २३ र २४ मा भएको युवा आन्दोलनलाई मुलुकमा बढ्दो चेतना, भ्रष्टाचारविरुद्धको असन्तोष र नयाँ पुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्। उनका अनुसार संविधानले दिएको मार्गदर्शनअनुसार सुशासन, समृद्धि र विकासको क्षेत्रमा देखिएका कमजोरी र त्यसबाट जन्मिएको असन्तोषले आन्दोलनलाई उत्प्रेरित गरेको हो। प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आधार नै जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली भएको भन्दै, “यो आन्दोलनलाई म हाम्रो लोकतान्त्रिक स्वास्थ्यसँग पनि जोडेर हेर्छु,” भनिन्। युवाले उठाएका माग र एजेन्डालाई आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार जनअपेक्षाअनुरूप काम गर्ने स्पष्ट सन्देश दिइन्।
अर्घाखाँची — नेपाली कांग्रेस सन्धिखर्क नगरसभापति बाबुराम भुसालले पद र पार्टी दुवै परित्याग गरेका छन्। जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा भुसालले हालैको GEN Z आन्दोलनमा समर्थन जनाउने सबै कांग्रेसजनलाई दोषी ठहर गरिनु अन्याय भएको बताएका छन्। त्यही कारण आफूलाई पदमा बसिरहन अनुचित लागेको र अब साधारण सदस्यसमेत नरहने निर्णय गरेको उनले स्पष्ट पारेका छन्। भुसालले राजीनामा पत्रमार्फत कांग्रेस नेताहरुलाई विधानको धारा ५९ अध्ययन गर्न आग्रह गर्दै “भाषण होइन, व्यवहार र जनताप्रतिको कामले मात्र विश्वास जितिन्छ” भनेर सन्देश दिएका छन्। “यो निर्णय कुनै दलगत प्रभाव वा व्यक्तिगत स्वार्थका कारण नभई आफ्नै स्वेच्छाले गरेको हुँ ” उनले भनेका छन्…
