अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले अर्घाखाँची मात्र नभई समग्र समाज नै अपूरणीय क्षतिकाे सामना गर्नुपरेको भन्दै गहिरो दुःख प्रकट गरेका छन्।
शनिबार नेकपा (एमाले) जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले श्रेष्ठलाई “जिल्लाका असल अभिभावक र आफ्ना व्यक्तिगत जीवनका मार्गदर्शक” का रूपमा स्मरण गरे।
“कठिन घडीमा उहाँले सदैव ऊर्जा र प्रेरणा दिनुभयो,” भावुक हुँदै मुख्यमन्त्री आचार्यले भने।
श्रेष्ठले सन्धिखर्कलाई सदरमुकाम बनाउनदेखि बजार विस्तार, विद्यालय स्थापना, धार्मिक स्थल र पूर्वाधार विकाससम्म महत्वपूर्ण योगदान गरेको स्मरण वक्ताहरूले गरे। लामो समय वडाध्यक्ष र उपप्रधानपंचको भूमिकामा रहेर उनले प्रशासनिक केन्द्र सन्धिखर्क ल्याउन निर्णायक काम गरेको उल्लेख गरियो।
कार्यक्रममा एमाले, कांग्रेससहित विभिन्न दलका नेताकार्यकर्ताले फूल, अबिर र मौनधारणमार्फत दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।