रुद्रमणि भुसाल , अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला हुलाक कार्यालयबीच राहदानी (पासपोर्ट) सेवाग्राहीको घरघरमै पुर्याउने सम्बन्धमा आज सन्धिखर्कमा सम्झौता भएको छ । सम्झौतासँगै अब सेवाग्राहीले प्रशासन कार्यालयमा राहदानी लिन पुन धाउनुपर्ने झन्झटबाट छुटकारा पाउने भएका छन् ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीका अनुसार राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेका राहदानीहरू सम्झौताअनुसार तीन दिनभित्र सम्बन्धित व्यक्तिको घरमै पुयाइनेछ ।
घरमै राहदानी सेवा लिन चाहने सेवाग्राहीले प्रशासनमा राहदानी बनाउन आउदा नै हुलाक कार्यालयमा ५५ रुपैयाँ दस्तुरतिरी फारम भरी घरमै राहदानी चाहिएको उल्लेख गर्नुपर्ने छ । राहदानी प्रशाासनमा आएको मितिले हुलाकका कर्मचारीले तीनभित्र जिल्लाभर जहाँको व्यक्ति भएपनि घरमै लगिदिने जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका प्रमुख भरत सापकोटाले बताउनु भयो ।
यो सेवा सुरु भएसँगै विशेषगरी वृद्ध, अशक्त तथा रोजगारी र काम बिशेषले टाढा–टाढाबाट प्रशासन कार्यालय आउन कठिनाइ हुने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । अर्घाखाँचीमा प्रति महिना राहदानी बिभागबाट करिब ५सय राहदानी बनेर आउने गरेको अर्घाखाँचीका राहदानी शाखा प्रमुख पोमनारायण कुवंरले जानकारी दिनुभयो ।

