नेपाल राज्य संवाददाता
अर्घाखाँची– (नेकपा) एमालेका केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँची प्रतिनिधिसभा उम्मेदवार टोपबहादुर रायमाझीले २०६४ सालमा आफु तत्कालिन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि अर्घाखाँचीमा विकासका हिसाबले धेरै फड्को मारेको बताए । उनले विकास र समृद्धिको लागि फेरी पनि जनताले टोपबहादुर नै खोजेको दावी गरे ।
‘मोटरेवल फुल नहुँदा सास्ती थियो, धेरै ठाउँ पुल बनाए, टोलैपिच्छे मोटरबाटा विस्तार गरेर व्यवस्थित सडक बनाएँ, अब गाउँका सडक पिच र ग्राभेल गर्न बजेट परेको छ,’ सन्धिखर्कमा ऋषि धमालासँगको कार्यक्रममा रायमाझीले भने, ‘पहाडी जिल्लामा अहिले ३ सय ट्याक्सी चलेका छन् । उनीहरुले रोजगारी पाए, शिक्षा, स्वास्थ्यमा पूर्वाधार निर्माण भएका छन् ।’ पर्यटन विकासको लागि नरपानी, सुपादेउराली, पाणिनि तपोभूमि, मालारानी, अर्घा, खाँची दरबार लगायतका ठाउँमा पूर्वाधार संरचना निर्माण गरेको उनले बताए ।
अर्घाखाँचीको मुहार फेर्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन, पोखरा–सुर्खेत सडक, मदन भण्डारी मार्ग, गच्छे–भालुवाङ सडक लगायतका थुप्रै सडकमा करोडौं बजेट पारेर काम भैरहेको रायमाझीको तर्क छ । केही वस्ती बाहेक अर्घाखाँचीमा विद्युत विस्तार भएको छ । अब कृषि, पर्यटक, कृषि उद्यमबाट युवालाई स्वरोजगार बनाउने, जिल्लामै गुणस्तरीय शिक्षाका लागि आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । २०६४ देखि ०७९ सम्म विकासमा धेरै परिवर्तन भएको उनले बताए । रायमाझी पट पटक मन्त्री र उपप्रधानमन्त्री भएका छन् ।