वीरेन्द्र केसी, अर्घाखाँची ।
क्षेत्रफलका हिसाबले देशको ठूलो अर्घाखाँची शितगंग नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँ बजेट ल्याएको छ। शनिबार १५ औं नगरसभा मार्फत नगर उपप्रमुख गिता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पूँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रूपैयाँ रहेको छ ।
संघबाट समानीकरण अनुदान १२ करोड ८० लाख, सशर्त अनुदान ४७ करोड १५ लाख ५५ हजार र राजश्व बाँडफाँडतर्फकाे रकम १६ करोड ७२ हजार प्राप्त हुने अनुमान रहेको छ ।
लुम्बिनी प्रदेशबाट समपुरक अनुदान १ करोड ५ लाख, संघीय समपुरक अनुदानतर्फ ५० लाख, सडक बोर्ड नेपाल समपुरक अनुदान ६५ लाख, प्रदेश समानीकरण अनुदान ८९ लाख २० हजार, प्रदेश सशर्त अनुदान १ करोड २८ लाख, प्रदेश विशेष अनुदान ३० लाख र प्रदेश राजश्व बाँडफाँट १ कराेड १२ लाख र चालू आर्थिक बर्षकाे अनुमानित बचत १ करोड ४९ लाख २१ हजार हुने प्रारम्भिक अनुमान रहेको भाटले बताइन् ।
शितगंगाले कृषि उत्पादन, शिक्षा, स्वास्थ, पुर्बाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ । १२ कक्षासम्म नि:शुल्क शिक्षा व्यवस्थापनकाे लागि २० लाख र उपप्रमुख शैक्षिक कार्यक्रमका सञ्चालन गर्ने भएको छ । त्यस्तै नगरपालिकाले नमुना कृषि फार्म सञ्चालन गर्न ५ लाख बजेट विनियोजन भएको छ । नगरभित्र कृषि तथा पशु विकासका माध्यमबाट स्थानीयलाई राेजगारी सृजना र आय आर्जन बढाउन नगरप्रमुख कृषि विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसको लागि १ करोड १० लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको उनले बताइन् ।
शितगंगा कृषि, पशुपालनकाे लागि सम्भावना राम्रो भएको नगर हाे । तराईका जिल्लासँग सीमामा जाेडिएकाे यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङ सहित भारतीय सीमा नाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ । पढेलेखेका युवालाई कृषि उद्यममा जाेड्ने नगरको लक्ष्य रहेको छ ।
नगरभित्रका ५ वटा नगर गाैरवका सडक ठाडा- अमराइ- जुकेना देउराली ऐरावती, भेडामारे-सिमलपानी- बाैरीभाट गाउँ चिदिचाैर हुँदै चाेलारानी दाव पावरा बिक्रमसाेता, चाक्ला -हरेबरे-बहखाेर- पाकुरी धानखाेला, सितापुर-सुवर्णखाल- मन्द्रे- नेटापाेखरा र ढुंगेशेरा- टिकरी-माैवाबारी- वनकासवासलाई निर्माण गर्न नगर,संघ र प्रदेशबाट समपुरक अनुदान समेत गरि ५ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी खडरबट्टी- फोर्सल- सुपारीनेटा- बाँके हरे, सातमारा- लाहापे-सिलिङखाेला- चिदिचाैर सडक र हरे- लाैरी- लामाताल सडकलाई २ करोड २० लाख सहित नगरभित्रका सडक मर्मत तथा स्तराेन्नतीका लागि कुल ९ करोड २० लाख ८० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै सुशासनतर्फ १३ करोड ५२ लाख ७० हजार बजेट पारिएको छ ।
नगरले सडक सञ्जालकाे स्तराेन्नती गर्ने साथै नगरबाट बजेट विनियोजन भई निर्माण कार्य सम्पन्न नभएका भवन निर्माणमा निरन्तरता दिने, नगरकाे शिक्षा प्रणालीमा परिणात्मक र गुणात्मक सुधार ल्याउने र कृषि, शिक्षा, स्वास्थ्य र पुर्बाधारका क्षेत्रमा लगानी बढाई नगरबासीले अनुभूति गर्ने गरि नयाँ आयाेजना सञ्चालनमा ल्याउने नीति अगाडि सारेको छ ।
उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा याेगदान पुराउने, आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष याेगदान पुराउने कार्यक्रम सञ्चालन गर्ने, समावेशी विकास, दिगाे विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रबद्वन, वातावरण संरक्षण, जनमैत्री विकास लगायतका विकासका समसामयिक मुद्वाहरूलाई निरन्तर सम्बाेधन गर्ने भएको छ ।
सबै प्रकारका विभेद र असमानताकाे अन्त्य, समन्यायिक विकास र विकासको प्रतिफलमा न्यायपुर्ण पहुँच पुराउन र उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा वातावरण ल्याउने नीति अगाडि सारिएको छ ।
शितगंगा नगर प्रमुख छविलाल पाैडेलकाे अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नगरको १४ वटै वडाध्यक्षहरू, वडा सदस्य र कर्मचारीको उपस्थिति रहेको थियोे ।