अर्घाखाँचीमा डढेलो नियन्त्रण गर्न दुइवटा दमकल
नेपाल राज्य संवाददाता
अर्घाखाँची– वनजंगल र घरबस्तीमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालयले मिनी दमकल खरिद गरेको छ । २५ सय लिटर पानी अट्ने मिनी दमकल ग्रामीण भेगका साँधुरा कच्ची सडकमा पनि पुग्न सक्छ । केही वर्षअघि सन्धिखर्क नगरपालिकाले ५ हजार लिटर पानी अट्ने दमकल खरिद गरेको थियो । अब एउटै दमकलमा भर पनुपर्ने छैन ।
गर्मी बढेसँगै घरगोठ, वनजंगलमा आगलागीका धेरै घट्ना हुँदा समस्या भएकाले मिनी दमकल खरिद गरिएको डिभिजनल वन अधिकृत नारायणदेव भट्टराइले बताए । डढेलो जोखिम न्यूनीकरण गर्न जिल्लामा १२ जना डढेलो नियन्त्रण विशेष दस्ता टोली ६ वटै पालिकामा खटाएको छ । उनीहरुले समुदायलाई डढेलो सम्बन्धी सचेत गराउने र प्रचारप्रचार गर्ने काम जेठ महिनासम्म गर्छन् । वनजंगल, घरबस्ती र डढेलोको ड्रोन मार्फत निगरानी पनि थालेको छ । यस्तै डढेलो सम्बन्धी सचेतनामूलक एक मिनेटको भिडियो बनाएर टिकटक, रिल्समा राख्न र उत्कृष्ट तीनवटा भिडियोलाई पुरस्कृत गर्ने भनि वन कार्यालयले घोषणा पनि गरेको छ । गतवर्ष वन कार्यालयले ६१ वडाका जोखिम गाउँबस्तीका समुदायलाई दुई जना गन्धर्व मार्फत सारंगी रेटेर गित गाएर प्रचारात्मक अभियान चलाएको थियो ।
‘एकै समयमा धेरै ठाउँमा वनजंगल र घरगोठमा आगलागी हुँदा निभाउन समस्या भएकाले मिनी दमकल खरिद गरेका हौं,’ सूचना अधिकारी केशर खड्काले भने, ‘यो कच्ची साँधुरो सकडमा पनि सहजै जान्छ । डढेलो नियन्त्रण गर्न सहयोग पुग्नेछ ।’ यसअघि सन्धिखर्क नगरपालिकाले खरिद गरेको ठूलो दमकल थियो । त्यो साँधुरा सडकमा जान सक्ने थिएन । एकैपटक दुई तीन ठाउँको डढेलो निभाउन समस्या थियो ।’
वन क्षेत्रमा आगलागी हुँदा वन्यजन्तुुको बासस्थान जैविक विविधता, जडिबुटी नोक्सान, किराफट्यांग्रा जलेर नष्ट हुने र मानव बस्ती समेत जोखिम हुन्छ । जिल्लाका ग्रामीण भेगका मुख्य बाटाहरु पीच र ग्राभेल भएपनि धेरै बस्तीमा कच्ची सडक छन् । पहाडको जटिल भौगोलिक बनावटसँगै साँधुरा सडक भएकाले ठूलो दमकल पुग्न नसक्ने सडकमा मिनी दमकल पुग्न सक्ने उनले बताए । अचानक आगलागी हुँदा तत्कालिन अवस्थामा पानी पु¥याउने र डढेलो निभाउन सहयोग पुग्नेछ । यसअघि नगरपालिकाको दमकल एक ठाउँमा आगो निभाउँदै गर्दा अर्काे घरगोठमा आगलागी हु“दा समस्या भएको थियो ।
डढेलो कम गर्न समुदायमा प्रचारप्रचारलाई व्यापक बनाइएको छ । वन्यजन्तुु, चराचुरुङ्गीको संरक्षण, साना बोटविरुवा जोगाउन र जनधनको क्षति न्यूनीकरण गर्दै वातावरणीय सन्तुलन जोगाउन वन कार्यालयले हरेक वर्ष नयाँ जुक्ती निकाल्दै समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

