अर्घाखाँची ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् ।
अर्घाखाँची भूमिकास्थान नगर कमिटी तेस्रो अधिवेशन उद्घाटन गर्न शनिबार आएका नेता श्रेष्ठले माओवादी नेता र पार्टी सच्चिनुपर्ने बताए । ‘२०६४ को हामी ठूलो शक्ति थियौं, अहिले शक्तिमा कमजोर छौं,’ श्रेष्ठले भने, ‘हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिलो थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं । अब सच्चिएर पार्टी रुपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ ।’
माओवादी पार्टी परिवर्तनको बाहक भएकाले लोकतन्त्र रक्षा, सामाजिक आर्थिक रुपन्तारण पनि माओवादीले नै गर्छ भन्दै जनतासँग पुग्न उनले कार्यकर्तालाई अपिल गरे ।
‘अब पार्टीको रुपान्तरण र पुनर्गठन गरी अब एक्लै चुनावमा लड्छौं,’ उनले भने, ‘तपाईं कार्यकर्ता रुपान्तरण भएर घरघरमा पुग्नुस्, हरेक कमिटीमा पुग्ने, सक्रिय हुने । पार्टी निर्माणको अभिायनका केन्द्रमा राख्ने, जनपरिचालन गर्न दृढ भएर लाग्नुस् ।’ पार्टी अध्यक्षसहित सबै नेता फेरि जनतालाई जगाउन देश, दौडाहामा हिँडेको उनले बताए ।
वीरेन्द्र के.सीले कान्तिपुरमा लेखेका हुन् ।