रुद्रमणि भुसाल ,जेठ २३ अर्घाखाँची ।
सहकारी क्षेत्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा सहकारी एकीकरण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले सन्धिखर्कमा सहकारी शिक्षा तथा सहकारी एकीकरण सम्बन्धी संयुक्त प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा तथा जिल्ला सहकारी सङ्घ अर्घाखाँची र जिल्ला बचत तथा ऋण सहकारी सङ्घको समन्वयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा तीनवटै सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समितिका सदस्य तथा प्रतिनिधिहरू गरी ४३ जनाको सहभागिता रहेको साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाहरूबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार तथा एकीकरणसम्बन्धी अवधारणालाई थप स्पष्ट बनाउन कार्यक्रम उपयोगी भएको बताउनुभयो ।
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रका विज्ञ नारायण बेलबासेले सहजीकरण गर्नुभएको थियो। उहाँले सहकारी संस्थाको भूमिका, काम, कर्तव्य र अधिकार, सहकारीका मूल्यमान्यता तथा सिद्धान्त, वर्तमान सहकारी ऐन, नियमावली, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सहकारी एकीकरणको आवश्यकता र प्रक्रियाका विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षक बेलबासेले सहकारी संस्थाहरूलाई समयसापेक्ष, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजान आवश्यक रहेको बताउँदै बदलिँदो कानुनी तथा नीतिगत व्यवस्थाअनुसार संस्थाहरूले आफ्नो कार्यसम्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । साथै, सहकारी क्षेत्रलाई थप बलियो, प्रतिस्पर्धी र दिगो बनाउन आवश्यकताअनुसार सहकारी संस्थाहरूबीच एकीकरणको अवधारणालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहकारी सञ्चालनका क्रममा देखिएका चुनौती, कानुनी व्यवस्था, सदस्य सेवाको प्रभावकारिता तथा सम्भावित एकीकरणका विषयमा आफ्ना जिज्ञासा र अनुभवहरू प्रस्तुत गरेका थिए । प्रशिक्षकले सहभागीहरूका प्रश्नको उत्तर दिँदै व्यवहारिक पक्षबारे समेत जानकारी गराउनुभएको थियो ।
सहभागीहरूले यस्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमले सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि हुनुका साथै संस्थागत विकास र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने जिल्ला सहकारी सङ्घ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालले बताउनु भयो ।
आयोजक संस्थाहरूले आगामी दिनमा पनि सहकारी शिक्षा, क्षमता विकास तथा सहकारी क्षेत्रको सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम सहकारी कर्मी नारायण भुसाललको संचालन र अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष द्रोण प्रसाद भुसाललको अध्यक्षतामा सम्पन्न भएको हो ।

