डडेल्धुराको गौडेश्वर मावि बेलापुरमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको एक महिना पुरा भएको छ । तर, विद्यार्थीहरूको हातमा अहिलेसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक दानबहादुर बोहराका अनुसार ५० जना भन्दा बढी विद्यार्थी रहेको कक्षा ७ मा जम्मा २५ सेट पुस्तक पुगेको छ । ४५ जना विद्यार्थी रहेको कक्षा ६ का विद्यार्थीहरूले अहिलेसम्म नयाँ किताब कस्तो छ, देख्न पाएका छैनन्
कक्षा ६ का विद्यार्थीहरू यस अघिका पुराना किताब पढिरहेका छन् । तर, त्यो पनि प्रयाप्त छैन । कक्षा ५ मा पनि त्यस्तै छ । विद्यार्थीहरू पढ्न जान थालेको एक महिना पुरा भयो तर, किताब पाएका छैनन् । पुरानै विद्यार्थीहरूबाट मागेर काम चलाउनुपरेको प्रधानाध्यापक बोहराको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले थुप्रै विद्यालयमा पाठ्यपुस्तक पठाउन नसकिएको बताए । धनगढीबाट आवश्यकताअनुसार पाठ्यपुस्तक नआउँदा वितरणमा ढिलाई भइरहेको उनको भनाई छ । असारसम्ममा सम्पूर्ण विद्यार्थीको हात हातमा किताब पुगिसक्ने उनको दाबी छ ।