काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले सुर्खेत की १६ वर्षीया इनिशा बिकमाथि भएको जघन्य तथा अमानवीय अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।
भुसालले बलात्कारसम्बन्धी कानुन नेपालमा कठोर भए पनि समाजमा त्यसको आवश्यक डर र प्रभाव देखिन नसकेको बताएकी छन्। उनले उक्त घटनाको अनुसन्धानलाई तीव्र बनाउन र दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी हुन् ।
साथै पीडित परिवारलाई छिटो न्याय दिलाउन ढिलाइ नगर्न आग्रह गर्दै उनले यस्ता घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गरेकी छन्। राज्यका निकायहरूले निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएकी छन्।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिशा हाल सुर्खेतको वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। २३ फागुन बिहान ट्युसन पढ्न हिँडेकी उनी घर फर्किनन्। खोजीका क्रममा स्थानीय सामुदायिक वनमा गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

