सुर्य बस्याल, काठमाडौं – आज देशको राजनीतिक परिदृश्य हेर्दा जनताको एउटै स्पष्ट चाहना देखिन्छ-दलहरू मिलून्, स्थिरता आओस् र विकास-समृद्धिको बाटो खुलोस्। पुराना दलप्रति आक्रोश बढिरहेको बेला नयाँ वैकल्पिक शक्तिहरूबाट जनताले आशा गरेका छन् कि अब पद, प्रतिष्ठा र अहंकार होइन, देश र जनताका साझा लक्ष्यका लागि राजनीति गरियोस्। तर यही संवेदनशील घडीमा कुलमान घिसिङले लिएको बाटोले उनको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो उदाउँदो राजनीतिक शक्तिसँगको एकता प्रक्रियामा प्रवेश गर्दा कुलमानले “देशका लागि मिल्नुपर्छ” भन्ने सन्देश दिन खोजेका थिए। तर व्यवहारमा देखिएको तस्बिर त्यसको ठीक उल्टो बन्यो। पद नमिलेको कारण एकता भङ्ग हुन पुग्नुले उनको राजनीतिक यात्रालाई अवसरवादको कठघरामा उभ्याइदिएको छ।
जनता एकता, स्थिरता र साझा नेतृत्व खोजिरहेका बेला कुलमानले रास्वपाको संरचना नै असन्तुलित बनाउने खालका माग अघि सारे। वरिष्ठ उपसभापति पद, पार्टीको नाममै ‘उज्यालो’ शब्द, पदाधिकारी र सचिवालयमा आफ्ना मान्छे अनिवार्य, प्रत्यक्ष चुनावमा जित्ने क्षेत्र नै तोकेर उम्मेदवारी-यी सबै मागले एकता होइन, अधिकार क’ब्जाको संकेत दिए। यसले रास्वपाको अस्तित्व र आत्मालाई नै कमजोर बनाउने खतरा देखियो।
विडम्बना के छ भने, पत्रकार सम्मेलनमा कुलमानले “मैले पदको बार्गेनिङ गरेको छैन” भन्न भ्याए। तर व्यवहारमा पद नमिलेकै कारण अलग हुनु पर्यो। यो भनाइ र कर्मबीचको विरोधाभासले उनलाई अझ कमजोर बनाएको छ। राजनीति भाषणले होइन, निरन्तरता र आचरणले मूल्याङ्कन हुन्छ।
यसअघि कुलमानले रास्वपाको चुनाव चिन्ह ‘बिजुलीको बल्ब’ बनाउन खोजेको चर्चा पनि सार्वजनिक भइसकेको छ। त्यो सफल नभएपछि अहिले पार्टीको नाममै ‘उज्यालो’ जोडेर, भर्खर १-२ महिना पनि पूरा नभएको पार्टीको अस्तित्व जबर्जस्ती स्थापित गर्न खोज्नु व्यक्तिगत ब्रान्डिङको हतारो जस्तो देखिन्छ। पार्टी संस्था हो, व्यक्ति होइन-यो आधारभूत राजनीतिक सत्य कुलमानले अझै आत्मसात् गर्न नसकेको देखिन्छ।
कुलमानले सायद सोचे-नेपाल विद्युत प्राधिकरणमा जस्तै राजनीतिमा पनि स्वतः जनसमर्थन पाइन्छ। तर यहाँ एउटा गहिरो भ्रम छ। सरकारी संस्थामा भत्ता खाएर, कानुनी संरचनाभित्र काम गर्नु र खुला राजनीतिमा जनविश्वास जित्नु एउटै कुरा होइन। राजनीति धैर्य, सम्झौता, त्याग र सामूहिक निर्णयको खेल हो-जहाँ ‘म’ होइन, ‘हामी’ चल्नुपर्छ।
आजको समय मिलेर जनभावना बुझ्ने, साझा एजेन्डामा उभिने र देशलाई अघि बढाउने हो। तर कुलमानले पदको लोभ र व्यक्तिगत महत्वाकाङ्क्षालाई प्राथमिकता दिँदै रास्वपासँग जसरि अलग भए, त्यसले उनलाई छोटो समयको चर्चाभन्दा लामो समयको राजनीतिक धक्का दिने संकेत देखिन्छ।
अन्ततः प्रश्न एउटै छ- कुलमान देश बनाउने राजनीतिमा आएका हुन्, कि राजनीतिबाट आफू बनाउने यात्रामा?
यसको उत्तर अब उनले गर्ने आगामी कदमले दिनेछ, तर रास्वपासँगको अलगावले उनको राजनीतिक विश्वसनीयतामा गहिरो दरार भने निश्चित रूपमा पारेको छ।

