काठमाडौं, साउन ११ – लोकसंगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माले तीज कोसेली ‘श्रीमान’ सार्वजनिक गरेका छन्।
शर्माको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा तीज पर्वको मौलिकता, नेपाली महिलाको आत्माभिव्यक्ति र पारिवारिक सम्बन्धको संवेदना प्रस्तुत गरिएको छ।
गीतमा गायक पुष्कल शर्मा र गायिका पूर्णकला बिसीको स्वर रहेको छ। शब्द र लय शर्माकै छ भने मौसम हिमालीले निर्देशन गरेका छन्। भिडियोमा सवि शर्मा, अर्जुन सापकोटा, सारिका केसी र विक्रम बुढाथोकी को दमदार अभिनय गरेका छन्।
गायक शर्माले गीत मार्फत मौलिकता जोगाउने प्रयास गरेका छन् पछिल्ला वर्षहरूमा तीज गीतमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति आपत्ति जनाउँदै ‘श्रीमान’ गीत त्यसको प्रतिवादस्वरूप ल्याएको बताएका छन्।
उनले भनेका छन्, “तीज हाम्रो मौलिक चाड हो। यसलाई भड्किलो र अश्लील बनाउने प्रयत्नलाई रोक्नुपर्छ। ‘श्रीमान’ त्यही चेतनासहित ल्याएको गीत हो।”
गीत सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा व्यापक श्रोताको सकारात्मक प्रतिक्रिया आउन थालेको छ। गीतको भावनात्मक प्रस्तुति, गहिरो शब्द र मौलिक लयले दर्शक–श्रोताको ध्यान खिचिरहेको छ।
पुष्कल शर्माको सांगीतिक यात्रा लोभलाग्दो छ । पाल्पामा जन्मिएका गायक पुष्कल शर्मा विगत दुई दशकदेखि नेपाली संगीतमा सक्रिय छन्।
‘मलामी’, ‘ढाट्यो मायाले’, ‘तोरी लाहुरे’, ‘सम्झना बाँकी छ रे’, ‘सालैजौ’ जस्ता गीतमार्फत उनले बियोगान्त र मौलिक लोकसंगीतमा गहिरो छाप छोडेका छन्।
दर्जनौं गीतमा अभिनय गरिसकेका शर्मा लोकगीत र दोहोरी विधामा स्थापित नाम हुन्। स्टेज कार्यक्रमदेखि युट्युबमार्फत समेत उनले लोकसंस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
‘श्रीमान’ गीतले तीज पर्वमा मौलिकता र सन्देश प्रधान सामग्रीप्रति जनचासो बढाउने देखिएको छ। गीतले नेपाली लोकसंगीतमा सिर्जनशीलता, सामाजिक चेतना र सांस्कृतिक उत्तरदायित्व बोकेको स्पष्ट संकेत दिएको छ।
भिडियो :