क्षितिज विक्रम खनाल- बुटवल। राजनीतिक संगठन भनेको केवल एउटा संरचना, कार्यक्रम वा घोषणापत्र मात्र होइन। त्यो त एक विचारको घर हो, जहाँ आस्था, योगदान, भरोसा र सहकार्यको ईंटाले संगठन बन्छ। यस्तो संगठनमा साँचो लोकतन्त्र भनेको केवल बैठकमा हात उठाएर निर्णय गर्ने प्रक्रियामै सीमित हुँदैन—विचारमा बहस गर्न, फरक मत सुन्न, र असहमतिलाई पनि आत्मीयतासाथ स्वीकार गर्न सक्ने संस्कारमा हुन्छ। संगठन बलियो तब हुन्छ जब उसले आलोचना सुन्छ, फरक मतलाई अवसर ठान्छ, र हरेक सदस्यलाई “म पनि यो संगठनकै अंग हुँ” भन्ने भावना दिन सक्छ।
अहिले (राष्ट्रिय युवा संघ नेपाल) भित्र भएका केही निर्णय र घटनाक्रमले फेरि पनि सोच्न बाध्य बनाएको छ—के हामी साँच्चिकै सही दिशामा छौं? के नेतृत्व, संगठन र फरक मतबीचको सम्बन्ध सन्तुलित छ?
जब नेतृत्व विचारभन्दा आग्रहमा ढल्किन थाल्छ, अनि समस्या सुरु हुन्छ। निर्वाचनमा जनताबाट अस्वीकार गरिएका साथीहरूलाई पुनः नेतृत्वको तहमा ल्याउने कुरा आफैंमा अन्यायपूर्ण होइन। तर यदि त्यो निर्णय पारदर्शी छैन, यदि त्यो संगठनको विधि र मर्म विपरित छ, अनि त्यो निर्णयको आधार सम्बन्ध, नजिकको गुट वा व्यक्तिगत रुचि मात्र हो भने त्यसले योग्य र योगदान दिने साथीहरूलाई निराश बनाउँछ। यसरी नेतृत्वको निर्णयप्रति विश्वास घट्दै जान्छ, र संगठन भित्रैबाट कमजोर बन्दै जान्छ।
त्यसपछि सुरु हुन्छ, गुटबन्दी। विचारको आधारमा होइन, को कस्को मान्छे भन्ने आधारमा निर्णय लिन थालिन्छ। स्वतन्त्र सोच राख्नेहरू, आलोचना गर्नेहरू, नजिकको सर्कलमा नपरेका साथीहरू क्रमशः पन्छाइन्छन्। संगठनभित्र तिनीहरू मौन हुन्छन्, निस्क्रिय बन्छन्, या निराश भएर टाढा जान्छन्। र सबैभन्दा गम्भीर असर—युवाहरूमा देखिन थाल्छ। उनीहरू हेर्छन्—योग्यता, संघर्ष र इमानदारीले होइन, नजिकका सम्बन्ध र चाकडीले अवसर पाइन्छ। अनि उनीहरू संगठनसँगै राजनीति प्रती नै विमुख हुँदै जान्छन्।
यही ठाउँमा संगठनले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। फरक मत राख्ने सदस्यलाई किन संगठनको शत्रुजस्तो व्यवहार गरिन्छ? संगठन भनेकै त विचारहरूको मेल हो, बहस हो, संवाद हो। यदि कोही संगठनको सिद्धान्तविपरित जान्छ भने त्यो अलग कुरा हो, तर केवल फरक दृष्टिकोण राख्नेहरूलाई ‘दण्डित’ गर्नु संगठनभित्र डरको संस्कार बनाउने हो—र त्यो कुनै पनि जीवन्त संगठनको लागि खतरा हो।
नेतृत्व भन्ने कुरा केवल कुर्सीमा बसेर आदेश दिनु होइन। नेतृत्व भनेको सुन्न सक्ने, आलोचना झेल्न सक्ने, र फरक मतलाई पनि अपनाएर अघि बढ्न सक्ने सामर्थ्य हो। नेतृत्वमा शक्ति भन्दा पनि संयमता, विवेक र समावेशिता हुनुपर्छ। एउटा नेतृत्वले आफ्नो आलोचकलाई पनि विश्वास दिलाउन सक्नुपर्छ—”म तिमीलाई सुन्छु, तिमी मेरो संगठनकै हिस्सा हौ।” त्यही हो सशक्त नेतृत्वको चिनारी।
अब कुरा गरौं युवाहरूको। अहिलेको संगठनमा युवाहरूको सहभागिता के हो? उनीहरूलाई भाषण गर्न बोलाइन्छ, भीड बढाउन प्रयोग गरिन्छ, तर निर्णय गर्ने ठाउँमा लैजान हिचकिचाइन्छ। युवा केवल ‘कार्यक्रम सफल’ देखाउने साधन बनाइन्छन्। जबकि हामी सबैलाई थाहा छ—युवासँग ऊर्जा मात्रै होइन, विचार पनि छ, जोश पनि छ, र जिम्मेवारी लिन सक्ने हिम्मत पनि। यदि उनीहरूलाई निर्णय प्रक्रियाबाट टाढा राखियो भने, त्यो संगठनको भविष्य नै कमजोर बनाउने काम हो।
यसै सन्दर्भमा, फरक मत राख्ने साथीहरूलाई पनि आत्मसमीक्षा गर्न जरुरी छ। असहमति राख्नु राम्रो कुरा हो—तर त्यो विचारको धरातलमा आधारित हुनुपर्छ। कुनै पनि अभिव्यक्तिमा भाषा, तर्क र मर्यादा हुनुपर्छ। आलोचना गर्दा केवल गुनासो होइन, विकल्प पनि राख्न सक्नुपर्छ। नत्र आलोचना पनि आक्रोश बन्न जान्छ, र त्यसले संगठनलाई सुधार्न होइन, झन् कमजोर बनाउँछ। विचारको संघर्ष गरौं—तर त्यसमा आक्रोश होइन, विवेक राखौं।
राजनीति तात्कालिक रिसको खेल होइन, दीर्घकालीन सोचको यात्रा हो। त्यसैले प्रतिक्रिया पनि सोचेर, विश्लेषण गरेर, नतिजाको आँकलन गर्दै गर्नुपर्छ। कहिलेकाहीँ त मौनता पनि शक्ति हो, र संयमता नै सबभन्दा प्रभावशाली जवाफ बन्न सक्छ।
नेतृत्वले जे निर्णय लिन्छ, त्यसको असर धेरै गहिरो पर्छ। त्यसैले निर्णय गर्दा पारदर्शिता, निष्पक्षता र सबैको विश्वास कायम राख्ने प्रयास गर्नुपर्छ। मनोनयन, जिम्मेवारी बाँडफाँड, र अवसर दिने कुरामा नीतिगत स्पष्टता र निष्पक्ष मूल्यांकन हुनु अनिवार्य छ। ‘हाम्रो मान्छे’ होइन, ‘योग्य मान्छे’ रोज्ने परम्परा बनाउनु जरुरी छ।
संगठन यस्तो होस्, जहाँ तल्लो तहको कार्यकर्तासम्म सुन्न पाइयोस्, सहभागी हुन पाइयोस्, र बढ्न पाइयोस्। नेतृत्व यस्तो होस्, जसले आफूलाई मात्र होइन, असहमतलाई पनि विश्वास दिलाउन सक्दछ। यदि संगठनभित्र आलोचना गर्ने ठाउँ छैन भने, त्यहाँ आत्मघाती गल्तीहरू दोहोरिनु अनिवार्य हुन्छ।
हामीले पढेका, सुनेका धार्मिक ग्रन्थहरू—जस्तै महाभारत, रामायण—तिनको मूल्य पनि यही हो। अर्जुनले युद्ध सुरु गर्नुभन्दा पहिले शंका गरे, प्रश्न गरे, र तब मात्र उनी स्पष्ट मार्गमा गए। रामले वनवास भोगे, तर नैतिकता गुमाएनन्। त्यो धर्म केवल पूजा होइन, एक गहिरो राजनीतिक दर्शन पनि हो—शक्ति विवेकमा आधारित हुनुपर्छ भन्ने शिक्षा दिने।
आजको समयमा हामीलाई चाहिएको हो—संगठनभित्र संवाद, समन्वय र सहकार्यको अभ्यास। फरक मतलाई डर होइन, सम्मान दिइयोस्। नेतृत्व र कार्यकर्ताबीच विश्वास कायम होस्। संगठन सबैको साझा घर बनोस्—जहाँ विचारको भिडन्त हुन्छ, तर व्यवहारमा अपनत्व हुन्छ।
हामी सबै मिलेर यस्तो संगठन बनाऔं, जहाँ विचारले राजनीति गर्छ, सम्मानले नेतृत्व गर्छ, र उद्देश्यले दिशा देखाउँछ। अनि मात्रै त्यो संगठन केवल जित्ने संगठन होइन, सजग र जीवित संगठन बन्न सक्नेछ।
(लेखक क्षितिज विक्रम खनाल नेकपा एमाले लुम्विनी प्रदेश स्कुल बिभाग सदस्य हुन ।)

