अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ टारीस्थित सालझण्डी–ढोरपाटन सडक खण्डमा टिपरको ठक्करबाट एक जनको मृत्यु भएको छ।
शुक्रबार साझ करिब ७ बजे हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको बालुवा लोड गरिएको टिपरले मालारानी गाउँपालिका वडा नं. ५ निवासी अन्दाजी ३५ वर्षका उमेश खत्रीलाई ठक्कर दिएको हो। ठक्करबाट खत्रीको बाँया हात र टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अर्घाबाट प्रहरी बरिष्ठ हवल्दार भरत जि.सी.को कमाण्डमा २ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दिवस बहादुर जि.सी.को कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा साँझ ८:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि फरार रहेको ठक्कर दिने टिपरलाई बाँगीबाट प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

