काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल रास्वपा र सरकारका मन्त्रीहरुको दिल्ली दौड बाक्लिएको छ । सभापति रवि लामिछानेले गरेको शीर्ष भ्रमण नसकिँदै बालेन सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल आज दिल्ली जाँदैछन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ । लामिछाने पाँचदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्ने भए ।
परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको भ्रमणतालिका सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ । भ्रमणका क्रममा शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उनका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ । भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा उनी जान लागेका हुन् ।
भ्रमण दलमा परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी, कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापासहित नेपाली अधिकारीहरू रहनेछन् । परराष्ट्रमन्त्री खनाल र समकक्षी जयशंकरबिच २७ चैतमा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुने क्रममा मौरिससमा भेटवार्ता भएको थियो । उनीसँग दोस्रोपटक परराष्ट्रमन्त्री खनालको भेट हुन लागेको हो ।

