चन्द्रशेखर अधिकारी, बुटवल ।
अमेरिकामा प्राध्यापन गरिरहेका विश्वप्रसिद्ध प्राज्ञ डा. समिर खनाल।
अमेरिकाको हवाई टापुस्थित हवाई युनिर्भसिटीका मोलिक्युलर बायो साइन्स र बायो इन्जियिरिङका डा प्राध्यापक गुल्मी धुर्कोट पुर्ख्यौली घर भएका कपिलवस्तु बुद्धभूमिका एक सामान्य भारतीय लाहुरे नेपालीका छोरा ५५ वर्षिय समिर खनाल हवाईबाट प्रकाशित हुने ११.४ इम्प्याक्ट रहेको विश्व प्रसिद्ध जर्नल ‘बायोरिसोर्स टेक्नोलोजी’ का प्रधानसम्पादक हुन्। उनी २००८ देखि निरन्तर हवाईमै रहँदै आएका छन्।
उनले एसएलसी कपिलवस्तु महाराजगंज, आईएस्सी बुटलवबाट, बीई सिभिल भारत जयपुर, एमई सिभिल एआईटी थाईल्याण्ड, पीएचडी हंगकंग र पोष्टडक होनुलुलु हवाईबाट गरेका हुन्।
साइन्स डाइरेक्टअन्तर्गतको बायोरिसोर्स टेक्नोलोजीमा उनी मातहत विश्वका ख्यातिप्राप्त विश्वविद्यालयका ५८ जना एडिटोरियल बोर्ड छ। त्यसमा अमेरिकी, चिनियाँ, भारतीय, जापानिज, मलेसियन, कोरियन, युरोपियन, रसियन, अस्ट्रेलियनलगायतका स्कलर छन्।
बोयोरिसोर्स जर्नलमा प्रकाशित गर्न एक वर्षमा १० हजारभन्दा बढी अध्ययनअनुसन्धानपत्र संकलन हुन्छन्। प्राडा खनालले भने, ‘हामी २० देखि २१ प्रतिशतमात्र प्रकाशित गर्छौँ। पियर रिभ्युका क्रममा धेरै विज्ञले दिमाग लगाउँछन्। हाम्रो जर्नलको इम्प्याक्ट फ्याक्टर त्यत्तिकै ११.४ रहेको होइन।’
खनालकै नामका बायो इन्जिनियरिङसम्बन्धी पुस्तक प्रकाशित छन्। खनाल १७ वटा पुस्तकको ‘च्याप्टर कन्ट्रिब्युटर’ हुन्।
नेपालमा गुमनाम जस्तो देखिए पनि डा खनाल मातहत १४ पीएचडी, १२ पोस्ट डक्टरेट र १५ भिजिटिङ स्कलरलगायत सयौँ वैज्ञानिक छन्। हवाई विश्वविद्यालयले उपलब्ध गराउने प्रतिष्ठित धेरै प्रकारका अवार्डबाट विभूषित भइसेकेका छन्।
डा खनालले केही दिनअघि त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तर गरेकालाई हवाई लैजाने प्रक्रिया अघि बढाएका थिए। बायोईन्न्जिरिंगविज्ञ डा खनालबाट बागमती स्वच्छिकरणमा ठूलो सहयोग लिन सकिन्छ, सरकारले उनीसंग यस विषयमा अनुरोध गरोस्।