अर्घाखाँची।
नेकपा मसालका सक्रिय नेता तथा भूमिकास्थान नगरपालिका–३ हिले बरारुख निवासी नरहरी पौडेल (बादल) को ५४ वर्षको उमेरमा निधन भएको छ।
दिर्घकालदेखि कम्युनिष्ट आन्दोलनमा समर्पित बादलको निधनप्रति नेकपा मसाल अर्घाखाँचीले गहिरो दुःख व्यक्त गरेको छ। पार्टी प्रवक्ता पशुपति ढकालले बादलको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बादल लामो समयदेखि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँग आबद्ध हुँदै कम्युनिष्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय रहेका थिए ।
स्वर्गीय नेता बादलप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित शोकसभामा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी., भूमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, नेता सागर के.सी., राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम पन्थी, अन्टुकका केन्द्रीय उपाध्यक्ष गोविन्द वि.सी., नेकपाका नेता खेम घर्ती, वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
शोकसभा सम्पन्नपछि बुधबार नै गच्छेघाटमा उहाँको दाहसंस्कार गरिएको परिवार स्रोतले जनाएको छ। बादलप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले उहाँको योगदान सदैव स्मरणीय रहने बताएका छन्।