काठमाडौं, असार १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद पुष्पा भुसाल गौतमले नागरिकता विधेयकलाई स्वागत गर्दै त्यसभित्र रहेका विभेदकारी प्रावधानहरू तत्काल संशोधन हुनुपर्ने माग गरेकी छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेतृ भुसालले नागरिकता जस्तो संवेदनशील विषयमा सबै नेपालीलाई समान व्यवहार गर्नुपर्ने बताउँदै विभेदकारी प्रावधानले समस्या उत्पन्न गर्ने भएकाले त्यसलाई सच्याउन आग्रह गरिन् ।
त्यस अवसरमा उनले नेपाल महिला संघको आसन्न निर्वाचन सबैको सहमतिमा सम्पन्न गरिनुपर्ने बताउँदै संस्थामा एकता र समावेशी सहभागिता आवश्यक रहेको बताइन् ।
त्यसैगरी भुसालले पछिल्लो समय भएका उपनिर्वाचनतर्फ संकेत गर्दै उम्मेदवारले पार्टीलाई सांसद जिताइदिएका अवस्थामा मन्त्रीहरू अझै गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्न सानेपास्थित पार्टी मुख्यालयमा बसेको हो ।