नेपाल राज्य संवाददाता
अर्घाखाँची– संघीय संसदकी उपसभामुख पुष्पा भुसाल गौतम र एमाले सचिव टोपबहादुर रायमाझी उम्मेदवार टुंगो नलाग्दै गाउँ घुमेर फर्केका छन् । रायमाझी सांसद पद गुमेपछि धेरैजसो जिल्लामै छन् । उनी गाउँमा विवाह, पुजापाठ, मृत्यु भएका परिवारसँग र कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
उपसभामुख भएपछि पहिलो पटक जिल्ला आएकी भुसाल साता भेटघाट गरेर काठमाडौ फर्किन । भुसाल र रायमाझीले जिल्लाबाट काठमाडौ गई विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापन गर्नेसित पनि भेटघाटलाई अगाडी बढाएका छन् । ्आउँदो मंसिर ४ गते हुने चुनावका लागि रायमाझी एमालेबाट एकल सिफारिस भएका छन् । कांग्रेसबाट भुसाल सहित ५ जना उम्मेदवारको लागि सिफारिस भएका छन् । महिला समावेशी र उपसभामुख भएकाले सिफारिस जति जनाको भएपनि भुसालले नै टिकट पाउने संभावना छ । २०६४ मा तत्कालिन निर्वाचन क्षेत्र २ बाट चुनाव जितेकी भुसाल यस अघि दुई पटक समानुपातिक सांसद बनेकी छिन् ।
रायमाझी र भुसालले गाउँमा सरकारी र संघसंस्था, क्लवका कार्यक्रम मार्फत स्थानीयलाई आफुतिर आकर्षित गर्ने, राजनीतिसँगै आफुले गरेका र आगामी दिनमा गर्ने विकास निर्माणका भाषण गरेर मतदातालाई पहिल्यै आफुतिर प्रभावित गर्नेको होड नै चलेको छ । गाउँ पुगेका रायमाझी र भुसालसित सडक पिच, स्वरोजगार, सीपमुलक कार्यक्रम, खानेपानी, सिचाई, कुलो निर्माण लगायतका विकासका काम गर्न माग गर्छन् । छत्रदेवमा स्थानीयले बाँदरले अन्नबाली सखाप पारिदिएको गुनासो पोख्छन् ।
‘यस पटक प्रत्यक्षमा चुनाव लड्ने इच्छा छ,’ भुसालले भनिन, ‘गाउँमा पुग्दा धेरैले चुनावमा विजयीको शुभकामना दिएका छन् । यसपाली रायमाझीलाई चुनाव जित्छु ।’ भुसाल सदरमुकाम देखि गाउँमा सरकारी कार्यक्रम, विभिन्न संघसंस्थाले आयोजना गरेका अन्तरक्रियामा भाग लिएका छिन् । गाउँका स्थानीयसँग भेटघाट भैरहेको छ । शितगंगा, छत्रदेव, पाणिनि, सन्धिखर्क, भुमिकास्थान पालिकामा पुगेर खेल, उद्घाटन, स्वास्थ्य सामग्री वितरण देखि पालिकाले आयोजना गर्ने कार्यक्रममा पुगेकी छिन् । पाटीका कार्यकर्तासँग पनि भेटघाट गरेकी छिन् । अर्घाका विपन्न परिवारलाई कम्मल वितरण गरिन । गठबन्धनमा कांग्रेस नेतृत्व सरकार भएपछि जिल्लामा विकास योजनामा धेरै बजेट पारेको उनी बताउँछिन् । गाउँमा सडक निर्माण, सिचाई कुलो, खानेपानी, पर्यटक पूर्वाधार निर्मँण लगायतका योजनामा रायमाझीले भन्दा आफुले बजेट धेरै पारेको उनको दावी छ ।
जिल्लामा ५ दलीय गठबन्धनको शक्तिमा उनी प्रत्यक्ष चुनाव लडेर सांसद बन्न चाहन्छिन् । गठबन्धनको पहिलो दल कांग्रेसलाई संघमा सघाउन जिल्लाका अरु दल सहमत भएपछि उनी उत्साहित छिन् । ‘संघमा हाम्रो दाबी छैन,’ माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसालले भने, ‘प्रदेशमा हामीलाई सघाउनुपर्छ । यसपाली गठबन्धनबाट रायमाझीलाई जसरी नि हराउनुपर्छ ।’ माओवादीले संघको प्रत्यक्षमा सचिवद्धय चक्रपाणि खनाल र डिलाराम आचार्यलाई सिफारिस गरेपनि भागवण्डामा संघको टिकट कांग्रेसलाई दिन आफुहरु सहमत भएको उनले बताए ।
पुष्पा देउवा पक्षीय हुन । जिल्ला पाटी र बहुसंख्यक कार्यकर्ता इतर पक्षमा भएकाले नेताहरु व्यवस्थापन गर्न उनलाई चुनौती छ । इतरपक्षीय नेताहरु विष्णु मुस्कान, डा. रामबहादुर बिसी, रेवतीप्रसाद भुसाल, लेखनाथ पोखरेल, डा. मुक्तिराम श्रेष्ठ लगायतलाई संघ र प्रदेशमा समानुपातिक, राष्ट्रियसभामा समेट्नुपर्ने आवाज उठेको छ । जिल्लामा देउवा पक्ष निकै कमजोर छ । कांग्रेस १४ औं महाधिवेशनमा फराकिलो मतले जिल्ला सभापतिमा निर्वाचित भएका केशव श्रेष्ठ इतर पक्षका हुन । पुष्पा लगायत देउवा पक्षीय नेताले सभापतिमा उम्मेदवार उठाइका यावदप्रसाद घिमिरे तेस्रो भए ।
२०७४ को चुनावमा बिसीलाई रायमाझीले एमाले र राजमोको सहयोगमा १८ हजार ४ सय ४४ मतान्तरले पराजित गरेका थिए । नेकपा विभाजनपछि पुष्पकमल दाहाललाई छाडेर केपी शर्मा ओलीतिर लागेका रायमाझीले माओवादीबाट लगातार तीन पटक जितेर उपप्रधानमन्त्रीसम्म भए । अहिले नयाँ एमालेबाट चौथो पटक प्रतिष्प्रर्धा गर्दैछन् ।
वैशाखमा भएको स्थानीय तहको चुनावी परिणामले एमाले उत्साहित छ । अघिल्लो स्थानीय तहको चुनावमा ६ स्थानीय तहको १२ पद मध्ये ३ पद मात्रै जितेको एमाले ५ दलीय गठबन्धन हुँदा समेत एक्लै लडेर ८ पदमा जितेको छ । कांग्रेसको जनाधार मानिएको छत्रदेव र पाणिनिमा एमालेले जितेको छ । वडाध्यक्षको मतपरिणाम अनुसार एमालेको ४८ हजार २ सय ६० ल्याएको छ । कांग्रेसको ३७ हजार ९ सय २५, माओवादीको ७ हजार ९ सय ९०, राजमोको ४ हजार २ सय ९४ र नेकपा एसको ३ हजार ७ सय २३ मत ल्याएका थिए । ५ दलीय गठबन्धन एमाले भन्दा ५ हजार ७ सय १२ मतले अगाडी छ ।