अर्घाखाँची । भूमिकास्थान – ९ डेभा स्थित श्री भगवती माध्यमिक विद्यालयका जुनियर रेडक्रस सर्कल (जु.रे.स.) ले नेपालीहरूको महान् चाड तिहार (शुभ दीपावली) तथा छठ पर्वको अवसरमा विद्यालय परिसरमा खुला देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ।
मौलिक संस्कृतिको संरक्षण र समुदायबीचको आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए। सहभागी मध्ये ९ टिम विद्यालयका विद्यार्थीहरूको र १ टिम अभिभावकहरूको रहेको थियो।
प्रतियोगितामा कक्षा ६ की सन्दीपा बि.क.को टिमले प्रथम स्थान हासिल गर्दै नगद तथा पुरस्कार प्राप्त गर्यो।
कक्षा ११ की वर्षा थापाको टिम दोस्रो र कक्षा ८ की सुहाना परियारको टिम तृतीय स्थानमा रहेका थिए।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक कृष्ण खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्णायक मण्डलमा शिक्षक तारा बहादुर पुलामी, मोनिका पोखरेल र लक्ष्मी खनाल हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन शिक्षक पवन बरालले गर्नुभएको थियो।