अर्घाखाँची । सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले सामाजिक सञ्जालमा फैलिएका गलत क्रियाकलाप प्रति आफ्नो चिन्ता व्यक्त गरेका छन् । खानेपानी अस्वच्छ छ भन्ने भिडियो र टिप्पणीहरू सार्वजनिक भएपछि संस्थाले यसलाई दुर्भाग्यपूर्ण भन्दै ध्यानाकर्षण गराएको हो।
आचार्यका अनुसार साधारणसभा तथा अधिवेशन नजिकिँदै गर्दा एकतर्फी र अपूरा सूचनाले भ्रम फैलाएको छ। यदि कसैले प्रश्न उठाउँछ भने पानी शुद्धिकरणको प्रक्रिया, प्रयोग हुने औषधि, फिल्टर प्रणाली, र उपभोक्तासम्म पुग्ने पानीको गुणस्तरबारे सम्पूर्ण तथ्य उपलब्ध छ। यी विषय नउठाई गलत सूचनामार्फत जनतामा भ्रम फैलाउने काम ठिक नभएको बताए ।
संस्थाले शुद्धिकरणका सबै चरण अनुसार चलिरहेको दाबी गर्दै उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट गरेको छ।
आचार्यले तथ्य पुष्टि नगरी प्रसारित सामग्रीले उपभोक्तामा अनावश्यक भ्रम र अविश्वास बढाउने भएकाले जिम्मेवार ढंगले सूचना दिन आग्रह गरेका छन्। संस्थाले आवश्यक परे प्रमाण र प्रक्रिया सार्वजनिक गर्न आफूहरू सधैं तयार रहेको पनि बताएको छ।

