अर्घाखाँची । क्रिकेट खेल्न थालेको केवल एक वर्षमै अर्घाखाँचीकी प्रतिभाशाली खेलाडी आयुषा भुसालले प्रदेशस्तरमा आफ्नो क्षमता प्रमाणित गरेकी छन्।
सन्धिखर्कको टुँडिखेल मैदानबाट क्रिकेट यात्राको सुरुवात गरेकी आयुषा प्रदेशस्तरीय यू–१९ महिला छनोट प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भएकी हुन्।

रूपन्देही जिल्ला टोलीबाट प्रतियोगितामा सहभागिता जनाएकी आयुषाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरिन्। नवलपरासीविरुद्धको पहिलो खेलमा उनले ५ विकेट लिएर टोलीलाई जित दिलाउँदै ‘प्लेयर अफ द म्याच’ बन्न सफल भइन्। त्यसपछि पाल्पाविरुद्धको खेलमा पनि किफायती बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखिन्।
फाइनलमा बाँकेविरुद्ध आयुषाले पुनः शानदार प्रदर्शन गरिन्। उनले विपक्षी टोलीका शीर्ष तीन ब्याट्सम्यानलाई पेभिलियन फर्काउँदै ‘प्लेयर अफ द म्याच’को उपाधि जितिन्। प्रतियोगिताभर निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेपछि उनलाई प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषणा गरिएको हो।
साधारण अभ्यासबाट सुरु भएको आयुषाको क्रिकेट यात्रा अहिले प्रदेशस्तरमा सफलताको उचाइमा पुगेको छ। उनको यो उपलब्धिले अर्घाखाँचीका खेलप्रेमी मात्र होइन नयाँ पुस्ताका खेलाडीलाई पनि प्रेरणा दिएको छ।

