अर्घाखाँची – सरकारले अनिवार्य रूपमा लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट प्रणाली विरुद्ध अर्घाखाँचीका युवाहरू सडकमा उत्रिएर विरोध गरेका छन् ।
सोमबार जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका–२, भक्तिटोला चोकमा युवाहरूले “इम्बोस्ड नम्बर चाहिँदैन ! नागरिक लुट्न पाइँदैन ! इम्बोस प्रणाली खारेज गर ! नेपाली भाषा मेट्न पाइँदैन !” भन्ने जस्ता नारा लेखिएका प्लेकार्डसहित विरोध जुलुस निकालेका थिए।
जुलुसपछि कोणसभामा रूपान्तरण भएको कार्यक्रममा सहभागीहरूले सरकारले हतार–हतारमा अनिवार्य गरेको निर्णयले आम नागरिकलाई समस्या पर्ने बताएका थिए। उनीहरूको भनाइ अनुसार सरकार आफैंले वितरण गर्न नसकेको सेवा र अपूर्ण पूर्वाधारका कारण नागरिकले पटक–पटक सास्ती खेपिरहेका बेला फेरि नयाँ योजना लागू गर्दा जनतामा निराशा बढेको बताए ।
यसै सन्दर्भमा, रास्वपा सन्धिखर्कका सभापति तथा युवासमाजसेवी राजु खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै इम्बोस्ड नम्बर प्लेटको वैकल्पिक कार्यान्वयनका लागि सुझाव दिएका छन्। उनले लेखेका छन्–

“राष्ट्रिय परिचय पत्र लिन वर्षौं लाग्ने, सवारी चालक अनुमति पत्रको सट्टा ‘सेतो कागज’ दिने सरकारले अझै पुराना काम अधुरा छँदै नयाँ योजना ल्याउँदा आम नागरिकलाई सजिलो भन्दा बढी गार्हो भएको छ। नयाँ योजना ल्याउँदा नागरिकलाई सहज बनाउने उपायसहित ल्याइयो भने सबैले स्वीकार गर्थे।”
खड्काले इम्बोस्ड नम्बर प्रणालीबारे राखेका मुख्य सुझावहरू यस प्रकार छन् :
*आफ्नै भाषा र लिपिलाई मान्यता दिइयोस्।
*एकै पटक सबैलाई अनिवार्य गर्नुको सट्टा नयाँ सवारी साधन र नवीकरणमा आउने साधनहरूबाट क्रमशः सुरु गरियोस्।
*शुल्क सामान्य र सबैले सहजै वहन गर्न सक्ने गरी निर्धारण गरियोस्।
*यस प्रणालीलाई सञ्चालन र ट्र्याकिङ गर्ने प्रविधिको पूर्वतयारी पक्कापक्की गरियोस्।
*प्रयोगकर्तादेखि निरीक्षकसम्म सबैलाई आवश्यक तालिम र जानकारी दिइयोस्।
*सम्पूर्ण विवरण तथा डाटा सुरक्षित रहने ग्यारेन्टी प्रदान गरियोस्।
*नम्बर प्लेटको उत्पादनमा नेपाली व्यक्तिलाई प्राथमिकता दिइयोस्, ताकि देशको अर्थतन्त्र बाहिर नजाओस्।
*यो प्रणाली केवल राजस्व संकलनको साधन नबनी, आम नेपाली नागरिकलाई समेत प्रत्यक्ष लाभ हुने खालको होस्।
कोणसभामा युवाहरूले इम्बोस्ड नम्बर प्लेटलाई केवल आर्थिक भारको रूपमा नहेरी, राष्ट्रिय आवश्यकता र नागरिक सुविधा मिल्ने खालमा परिवर्तन गर्न माग गरेका थिए। “सरकारले आफ्ना पुराना काम व्यवस्थित रूपमा सम्पन्न गरेर मात्रै नयाँ योजना ल्याउनुपर्छ। नागरिकमैत्री नीति बनाए मात्र आम मानिसले सहजै स्वीकार गर्नेछन्।”युवाहरूको भनाइ रहेको थियो ।

