अर्घाखाँची । अर्घाखाँची अस्पतालले आफ्नो स्वास्थ्य सेवा प्रभावकारी व्यवस्थित र भरोसायोग्य भएको दाबी गर्दै जिल्लावासीलाई ढुक्क भएर यही उपचार गर्न आग्रह गरेको छ ।
अस्पतालमा हाल उपलब्ध सेवा गुणस्तरीय र परिणाममुखी रहेको अस्पतालका सम्पूर्ण कर्मचारीहरू जिम्मेवारीपूर्वक खटिरहेको स्वास्थ्य उपकरणहरू उचित प्रयोगमा रहेको र सेवामा कुनै कमी नआउने सुनिश्चित गरिएको अस्पतालका वरिष्ठ चिकित्सक (MDGP) डा. खगेन्द्र आचार्यले जानकारी दिए ।“हामीले बिरामीलाई गुणस्तरीय सेवा दिन कुनै कमी गर्न छोडेका छैनौं। सीमित स्रोत–साधनका बाबजुद पनि उपचार प्रभावकारी छ” डा. आचार्यले भने ।
पछिल्ला केही महिनामा अस्पतालमा उपचार गराउन आउने बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। बिरामी र उनका परिवारले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। अस्पताल प्रशासनले सेवा विस्तार उपचार प्रणालीलाई प्राथमिकता दिएको जनाएको छ।
डा. आचार्यले आफू पनि अर्घाखाँचीकै बासिन्दा भएको उल्लेख गर्दै अस्पताललाई जिल्लावासीको भरोसायोग्य स्वास्थ्य संस्था बनाउने लक्ष्यमा काम गरिरहेको बताए । उनले स्थानीय जनतालाई नजिककै अस्पतालमा गुणस्तरीय सेवा लिन आग्रह गर्दै भने “टाढा धाउनुभन्दा आफ्नै अस्पतालमा विश्वास गर्नुहोस्, समय, पैसा र स्वास्थ्य सबैको सुरक्षा हुन्छ।”
“म आएको ४ महिना भइसकेको छ, दैनिक सरदर २०० जना बिरामी आएर उपचार गराउँछन्। यस अवधिमा महिनाको सरदर लगभग १० जना सुत्केरी महिलाको सफल अप्रेशन गरेको छु।” उनले बताए ।
अस्पतालमा बिरामी रिफर गर्ने दर कम भएको र भर्ना बिरामीले उपलब्ध बेडहरू सबै भरिएका छन्। आकस्मिक सेवा अझ प्रभावकारी बनेको छ। अस्पताल प्रमुख र अन्य कार्यरत कर्मचारीहरूको सहयोग तथा सिमित नर्सिङ जनशक्तिबाट उच्चतम सेवा प्रदान भएको बताइएको छ।
नर्सिङ इन्चार्ज सुनिता आचार्यले उच्च शैक्षिक ज्ञान र अनुभवको साथ अस्पतालमा जिम्मेवारी सम्हाली बाहिरङ सेवा र समग्र अस्पतालको विकासमा दिनरात खटिनु परेको छ । उनको समर्पणले अस्पतालको सेवा स्तरमा उल्लेखनीय सुधार ल्याएको छ र स्थानीय नागरिकमा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको पाइएको हो ।
डा. आचार्यले समुदायसँग खुला संवादमा रहने र सुझाव समस्या भए तुरुन्त सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएका छन्। आगामी दिनमा सेवा सुधार उपकरण विस्तार र कर्मचारी तालिममार्फत अझ गुणस्तरीय उपचार प्रदान गर्ने योजना पनि अघि सारेको बताए ।

