वीरेन्द्र केसी, अर्घाखाँची । धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा दर्शन गर्न र घुम्न आउने तीर्थालुको संख्या वर्षमा दस लाख बराबर रहेको तथ्यांक छ । मन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर पर्यटक भित्रिने गर्छन् ।
‘मन्दिरमा दर्शन र नजिकै रहेको नरपानीमा घुम्न आउने पर्यटकको संख्या वर्षमा दस लाखभन्दा बढीको हुन्छ,’ सुपा देउराली मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले भने, ‘हरेक वर्ष यहाँ भित्रिनेको संख्या बढ्दो छ । भारतीय तीर्थालुको संख्या धेरै छ ।’ यति धेरै पर्यटक भित्रिनुको कारण सुपा देउरालीमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए ।
यो मन्दिर सन्धिखर्क नगरपालिका–७ र शितगंगा नगरपालिका–२ को बीचमा रहेको छ । सुपा देउरालीमा दर्शनपछि दुई किलोमिटर दुरीमा रहेको नरपानीमा प्रसाद ग्रहण गरिन्छ । चिसो ठाउँ भएकाले नरपानीमा घुम्न पर्यटक रमाउने उनले बताए । दर्शन गर्न शनिबार बढी भीड हुन्छ । यहाँ दैनिक पाँच सय देखि ३ हजारभन्दा बढी तीर्थालु भित्रिने गरेको उनले बताए । नेपाल/भारत सीमा कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको सुनौली नजिकै भएकाले सहज छ । नेपालको काठमाडौंसहित ठूला सहर, तराईबाट दैनिकजसो तीर्थालु दर्शन र भाकल पूरा गर्न गाडी रिजर्भ गरेर भित्रिनेको संख्या हरेक वर्ष बढ्दो रहेको व्यवस्थापन समितिका पूर्वउपाध्यक्ष हरि खनालले बताए । दसैंतिहार, नयाँ वर्षलगायतका चाडपर्वमा भीड लाग्छ । दसैंदेखि अहिलेसम्म दैनिक ५ देखि २० जना तीर्थालुले दर्शन गरेको उनले बताए ।
‘दसैंतिहार मनाउन बिदाको मौकामा टाढाटाढाबाट पनि सुपा देउराली भित्रिन्छन्,’ खनालले भने, ‘मन्दिरमा भाकेको पूरा हुने धार्मिक विश्वास भक्तजनमा छ । मागेको पुर्याएको भन्दै मन्दिरमा सुन, मोटो रकम, पाठापाठी लगायतका चढाउँछन् ।’
दुई पहाडको खोंचमा रहेको मन्दिर भौगोलिक हिसाबले पनि पर्यटकीय गन्तव्य हो । यहाँ दर्शनार्थीलाई मन्दिरमा दर्शनका लागि सहज गराउन व्यवस्थापन समिति सक्रिय छ ।समितिमा साधारण सदस्य ४सय ३० जना छन् । स्थानीयले मन्दिरको चौकीदार, व्यवस्थापन आलोपालो गर्छन् । यो क्षेत्र धार्मिक स्थल भएको भन्दै नेपाल घुम्ने क्रममा धेरैजसो पर्यटक सुपा देउराली आउने गर्ने उनले बताए ।
‘म काठमाडौं बस्छु, घर चितवन हो,’ भरतपुरकी विमला पौडेलले भनिन्, ‘दाजुभाइलाई टीका लगाउनु अघि नै दर्शन गर्न सबै आयौं । मन्दिरप्रति आस्था छ, यहाँ दर्शन गरेर नयाँ काम गर्दा मनमा शान्ति मिल्छ ।’ बुबाआमा, दुई दाजुभाइसँग गाडी रिजर्भ गरेर बुधबार सुपादेउराली आएकी थिइन् । बिहान ११ बजेतिर आइपुगेकी उनले एक घण्टा मन्दिरमा दर्शन, त्यसपछि नरपानीमा दुई घण्टा घुमेर बेलुकापख घरफिर्ता भइन् । दर्शन, घुमफिरका क्रममा मन्दिर र यस क्षेत्रको भूगोलमा टिकटक, रिल्सको लागि विभिन्न मोबाइलबाट भिडियो र फोटो खिच्न अधिकांश समय बिताएका थिए । हरेक वर्ष एकपटक समय मिलाएर सुपा देउराली आउने पौडेलले बताइन् ।
सुपा देउराली नेपालको सय गन्तव्यमध्येको पर्यटकीय स्थल हो । पर्यटक भित्रिने क्रम बढेसँगै मन्दिरको भेटी संकलन पनि बढिरहेको छ । अहिले वार्षिक एक करोड पचास लाख रुपैयाँ कोषमा भेटी संकलन भएको व्यवस्थापन समितिले जनाएको छ । उक्त आम्दानी गाउँको विकास र शैक्षिक क्षेत्रमा खर्च गर्दै आइएको छ ।
सुपा देउरालीको इतिहास र महत्त्व
व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं सन्धिखर्क नगरपालिका–७ का निवर्तमान वडाध्यक्ष प्रितम थापाका अनुसार सुपा देउराली मन्दिर अर्घाखाँचीको मात्रै होइन, नेपालकै प्रसिद्ध धार्मिकस्थल हो । सन्धिखर्क र शितगंगा नगरपालिकाको सिमाना झन्डै ४५ सय फिट उपचाइमा रहेको जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो । फलामे दुई महाभारत पर्वत श्रृङ्खलाका नर्तनाञ्चल पर्वतकोबीच अधिक उचाइमा रहेको भञ्ज्याङमा अवस्थित सुपा देउराली कहालीलाग्दो भीमकाय खोंचमा छ । सयौं फिट माथिबाट मन्दिरको तलपट्टी खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छहराले तीर्थालुलाई लोभ्याउँछ । साथै उत्तरस्थानमा कश्यप गुफा, महर्षि कश्यप ऋषिको प्रतिमा स्थापना भएकाले सो स्थानको अझ आकर्षण बढेको छ ।
मन्दिर स्थापनामा विभिन्न किंवदन्तीहरुका आधार र मन्दिरदेखि परपट्टी पहाडमा लाहुरे टाँसिएको, भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो आदिका शिलाहरुबाट त्रेता युगदेखि नै यहाँ शक्ति थियो भन्न सकिने जानकारको दाबी छ । परापूर्वकालदेखि नै प्रसिद्ध मन्दिरमा महर्षि पाणिनि तपस्याको लागि आएको बेला सोमेश्वर महादेवको दर्शन गरी उकालो लाग्दा देवीको दर्शन गर्दै नर्तनाञ्चल पर्वतमा दारुद वनमा भगवान् शिवको दर्शन पाएको धार्मिक ग्रन्थहरुमा पाइने व्यवस्थापन समितिका पूर्वसचिव यादव घिमिरेको भनाइ छ ।
उनका अनुसार बाइसेचौबिसे राज्यका पालामा खाँचीकोट राज्यका राजाले छोरीको इच्छाविपरित भारतका एक राजपुतसँग विवाह गरिदिने क्रममा राजकुमारी देवीको शक्तिले डोलीबाट अलप भएकी थिइन् । छोरीको सम्झनामा राजाले सुपा देउराली मन्दिर व्यवस्थित गरे । त्यही समयदेखि यस मन्दिरमा आफ्नो मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र विभिन्न फूलमाला, ध्वजा, वस्त्र, सुनचाँदी चढाएर पाठापाठीको बलीपूजा गर्ने र परेवा उडाउने प्रचलन रहिआएको छ । मन्दिर नजिकैको भित्तामा लाहुरे टाँसिएको भीर रहेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग गोरुसिंगे हुँदै करिब ९० किमी दुरीमा सदरमुकाम जोड्ने प्रमुख सडकमा पर्ने यो मन्दिर पहिले खोला माथिपट्टी खोपीमा ढाक्रेले आउजाउ गर्दा पूजापाठ गर्दै सामान्य रहेको मन्दिरलाई २०४२ सालमा र दोस्रोपटक ०६४ सालमा बाबा नरनारायणले काष्ठकलाको अपूर्व आधुनिक मन्दिर निर्माण गरे । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले पछिल्लो सयम भारत र नेपालका विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेरै तीर्थालु आउँछन् ।
मन्दिर दर्शनको लागि शनिबार, मंगलबार श्रद्धालुको भीड लाग्छ । हिन्दु धर्मशास्त्र अनुसार एकादशी, अक्षयतृतीया, औंशी, कृष्णजन्माष्टमी, ऋषिपञ्जमी, श्रीपञ्चमी, महाशिवरात्री र चैते राम नवमीका दिन बली चढ्दैन । पछिल्लो समय मन्दिरदेखि करिब दुई सय मिटर पर दुई पहाड जोड्ने पर्यटकीय झोलुंगे पुलबाट हरियाली मनोरम दृश्यसहितको दुई अग्ला पहाड देखाएर टिकटक र तस्बिर सामाजिक राख्ने क्रम बढ्दो छ ।
(पत्रकार वीरेन्द्र केसीले कान्तिपुरमा लेखेका हुन् ।)

