हरि कुँवर, अर्घाखाँची । नेपाली समाजमा दशैंलाई “महान चाड” भनिन्छ। वर्षभरि दुःख-कष्ट भोग्ने सर्वसाधारणले यो पर्वलाई कम्तीमा केही दिन त खुशीको बहाना भनेर हेर्छन्। जमरा, टीका, आशीर्वाद, नयाँ लुगा, मीठा परिकार अनि परिवारसँगको मिलनले दशैंलाई नेपाली जीवनको सबैभन्दा ठूलो पर्व मानिन्छ । तर, यही पर्व सबैलाई एकै किसिमले खुशी ल्याउने पर्व भने होइन। कसैको लागि यो दशैं उत्सव बनेर आउँछ भने कसैको लागि यो साँच्चिकै दशा भएर आएको छ।
महँगीले थिचेको दशैं
बजारको मूल्य सूची हेर्नेबित्तिकै सामान्य आमजनतालाई दशैं नजिकिएको महसुस हुन्छ। हरेक वर्ष जस्तै मासु, तरकारी, फलफूल, लत्ता–कपडा, यातायात भाडा , हवाई भाडाको मूल्य एकाएक बढ्छ। दशैंमा मात्र हो भन्ने होइन, तर पर्व नजिकिँदा व्यापारीहरूले नाफा बढाउने लोभमा उपभोक्तालाई अझै मारमा पार्छन्।
एकतर्फ महँगी चुलिएको छ भने अर्कोतर्फ रोजगारी र आम्दानी भने दिनप्रतिदिन घटेको छ। विदेशमा पसिना बेचेर पठाएको रेमिट्यान्स वा सहरमा दैनिक ज्याला गरेर कमाएको पैसा महिनाको आधारभूत खर्चमै सकिन्छ। यस्तोमा, दशैंका लागि मासु किन्न, बच्चालाई नयाँ लुगाफाटो दिन वा आफन्तलाई स्वागत गर्न वा घर सजाउन सामान्य परिवारलाई सजिलो छैन। यसरी हेर्दा, दशैं धनी र सम्पन्न वर्गका लागि रमाइलो तर गरिबका लागि चटक्कै खर्च बढाउने बोझ बनेर आउँछ ।
परदेशीको दशैं
दसैंको अर्को पीडादायी रूप परदेशमा रहेका नेपालीका देखिन्छन् । के पर्व कुन पर्व पत्तो हुँदैन । रूम जागीर रूम गरेर बिताउने हुन्छ । लाखौं युवा विदेशमा श्रम गरेर परिवारलाई धानिरहेका छन्। तर दशैंमा उनीहरूको निधार खाली हुन्छ।
आमा–बुबा दाजुभाइ छरछिमेक को हातको जमरा टीका लगाउन पाए हुने कि? भनेर पर्खिए पनि मोबाइलको पर्दाबाट मात्रै कुरा हुन्छ। कतिपयले तिर्नुपर्ने ऋणको चपेटामा हुने भएकाले घर आउन सक्दैनन्। यसरी हजारौं परिवारका लागि दशैं वियोग र परदेशीपनको सम्झना मात्र बनेर आउँछ।
दुर्घटना र मृत्युको पर्व
दसैं नजिकिँदै गर्दा देशभर यातायात साधन भरिभराउ हुन्छन्। टिकट नपाएर लुटिएको महसुस गर्नेहरू, जीप ओभर लोड, टेक्सी पाइदैन बसको छतमा चढेर यात्रा गर्नेहरू, बाटोमा दुर्घटनामा ज्यान गुमाउनेहरू यी सबै दशैंसँग जोडिएका पीडादायी दृश्य हुन्। सबै लाई हतार
प्रत्येक वर्ष दशैंतिरमा सयौं मानिस सवारी दुर्घटनामा ज्यान गुमाउँछन् वा घाइते हुन्छन्। जसले गर्दा कतिपय परिवारका लागि दशैंमा खुसी कहाँ छ भनेर खोजु पर्ने हुन्छ । दसैंमा शोक मात्र रहन्छ त्यो दशैं साँच्चिकै दशा बन्न पुग्छ।
राजनीति र नेतृत्वप्रतिको निराशा
दशैंको अवसरमा नेता–कार्यकर्ताले शुभकामनाका ब्यानर टाँस्छन्, भाषण गर्छन् र आफ्नो अस्तित्व देखाउँछन्। तर जनतालाई दशैंमा सहज यात्रा, सस्तो बजार, स्वच्छ प्रशासन, सुरक्षित बाटो दिने जिम्मेवारी भने पूरा हुँदैन। जनताले पर्खिने कुरा भनेको– घर जान सहज यातायात व्यवस्था होस्, व्यापारीले मनपरी मूल्य नलागोस, प्रहरी–प्रशासनले सुरक्षामा ध्यान दिओस्, गाउँघरमा शान्ति होस्। तर वास्तविकता उल्टो छ। जसले दशैंलाई खुशी भन्दा बढी निराशा र असन्तोषसँग जोडिदिन्छ। जेनजी आन्दोलन बाट नेपालले नयाँ रुप लिएको छ। शिक्षा स्वास्थ्य र रोजगार लगाएत विकासका परिवर्तन ल्याउछ ल्याउदैन चिन्ता उत्तिकै छ । युवा पुस्तालाई गरिबी अर्को तिर देश भित्र बस्ने वातावरण बनाउन समस्या ।
सामाजिक विभाजन
दसैंले समाजको वर्गीय विभाजनलाई पनि उजागर गर्छ। धनी वर्गले महँगो खसी बोका काट्छन, महँगो उपहार आदानप्रदान गर्छ, महँगो लुगा लगाउँछ। त्यही बेला, गरीब वर्गले बच्चालाई एउटा साधारण लुगा किन्न पनि दसपटक सोच्नुपर्छ। कसैले दशैंमा नयाँ टेलिभिजन किन्छ भने कसैले घरमा खाना पकाउन, एक छाकटार्न पनि ऋण लिनुपर्छ। यो असमानता नै दशैंमा सबैको अनुहार बराबर नदेखिनुको कारण हो।
दशैंको अझै बाँकी उज्यालो
यद्यपि सबै कठिनाइका बीच दशैंले ल्याउने केही उज्यालो पाटो अझै हराएको छैन। गाउँघरमा विगत सम्झिँदै भेटघाट गर्ने चलन अझै कायम छ। भाइटीका दिनमा दाजुभाइबीचको आत्मीयता, आमा-बुबाको आशीर्वाद, परदेशी छोराछोरीलाई सम्झेर बग्ने आँसु यी सबैमा अझै पनि पारिवारिक प्रेमको शक्ति बाँकी छ। खर्चको जरो गाडे पनि, नेपाली दशैंको आत्मा भने अझै परिवार, आशीर्वाद र संस्कारसँग जोडिएको छ ।
दशैं सबैका लागि समान रूपमा उत्सव बन्न सकेको छैन। कोहीका लागि यो चाड हो, कोहीका लागि खर्चको चपेटा, कोहीका लागि वियोग, कोहीका लागि मृत्यु र शोक। त्यसैले आज धेरैले भन्छन्- “दसैं कसैको लागि चाड, कसैको लागि दशा।” तर, कठिनाइका बीच पनि दशैंले दिने एकताको सन्देश, परिवारबीचको आत्मीयता र संस्कृतिको एकता नै यस पर्वको वास्तविक उपहार हो। सबैमा बडा दशैं शुभ रहोस् ।।