अर्घाखाँची। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि नेकपाका अर्घाखाँचीका उम्मेदवार रामबहादुर चौहान ले मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अर्घाखाँचीबासी आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा युवा–नवयुवाप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई दिएको माया, विश्वास र समर्थनका लागि धन्यवाद दिएका हुन्।
चौहानले निर्वाचन अभियानका क्रममा आफूले अर्घाखाँचीका गाउँ–गाउँ पुगेर जनताको दुःख, पीडा र समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरेका छन्। उनले लामो राजनीतिक तथा सामाजिक यात्रामा आफूले जनताबाट पाएको आत्मीयता र सम्मानलाई जीवनकै ठूलो उपलब्धिका रूपमा लिएको बताएका छन्।
उनका अनुसार यसपटक अपेक्षित मत प्राप्त गर्न नसके पनि जनताले देखाएको विश्वासले आगामी राजनीतिक यात्राका लागि मार्गदर्शन गरेको छ। “जनताको मनमा मत बाँडिएर गलत व्यक्ति जित्ने हो कि भन्ने त्रास र बाध्यता पनि थियो, त्यसलाई म सम्मानका साथ बुझ्छु” उनले लेखेका छन्।
चौहानले यस निर्वाचनमा भारी मतका साथ विजयी भएका हरि प्रसाद भुसाल लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन्। साथै उनले अर्घाखाँचीको विकास, सुशासन, भ्रष्टाचार अन्त्य, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिन आग्रह गरेका छन्।
त्यस्तै उनले जिल्ला अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न, पाणिनि बहुमुखी क्याम्पसलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने, अर्घा भगवती विमानस्थल सञ्चालनमा ल्याउने, नौमुरे जलविद्युत आयोजना अघि बढाउने तथा बेरोजगारी समस्या समाधान गरी विदेशिएका युवालाई जिल्लामै फर्काउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
चुनावी अभियानमा सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी, सुरक्षा निकाय तथा प्रशासनप्रति पनि चौहानले आभार व्यक्त गरेका छन्।
साथै उनले पराजयलाई अनुभव र शिक्षाका रूपमा लिँदै पार्टीलाई अझ सुदृढ, जनमुखी र क्रियाशील बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “असफलता सफलताको प्रतीक हो भन्ने कुरा मनन गर्दै हामी फेरि उठ्नेछौं, जित्नेछौं,” उनले उल्लेख गरेका छन्।
चौहानले आफू जनताको सेवामा निरन्तर सक्रिय रहने र अर्घाखाँचीको विकास तथा जनताका समस्याको समाधानका लागि सडकबाटै खबरदारी गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

