अर्घाखाँची । मालारानी गाउँपालिका–५ बाँगी भण्डार निवासी दल बहादुर कुँवरका छोरा मृगौला पीडित ४५ वर्षका पूर्णबहादुर कुँवर को उपचारका लागि सिद्ध माध्यमिक विद्यालय बाँगीमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले खाजा खर्च कटाएर आर्थिक सहयोग संकलन गरेका छन्।
विद्यालयका प्रधानाध्यापक डिल बहादुर के.सी. को नेतृत्वमा शोभाखर चुदाली, पाण्डवप्रसाद मिश्र, विष्णुबहादुर टण्डन, ललिता मिश्र, अनिता के.सी., सिता भुसाल, विद्यादेवी कुँवर, चन्द्रकला बस्नेत, रमेश कुमार खनाल, नेत्रप्रसाद पन्थी, संगिता बस्नेत, राजन बस्नेत, अशोक भुसाल, विकास बस्नेत, रुम बहादुर घर्ति, विष्णुमाया खनाल बस्नेत र नर्मदा भारती बस्नेत लगायत शिक्षक–कर्मचारीहरूले मानवीय भावनाका साथ सहयोग जुटाएका हुन्।
खाजा खर्च कटाएर संकलित गरिएको उक्त सहयोग रकम ११ हजार ५ सय ५ रुपैयाँ मृगौला पीडित कुँवरको उपचारका लागि प्रदान गरिएको विद्यालयले जनाएको छ। यसैगरी बाँगी नवदीप युवा क्लब ले पनि १० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै उपचार सहयोग अभियान सञ्चालन गरेको छ। यस्तै स्वतन्त्र उम्मेदवार रवि शाहले “पुर्णबहादुर कुँवर बचाउ अभियान”मा सहयोग गरेको क्लबले जानकारी दिएको हो ।
स्थानीय विद्यालय, युवा क्लब र शिक्षक समुदायबाट देखिएको यो सहकार्यले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको हो।जीवन र मरणको दोसाँधमा रहेका पूर्णबहादुर कुँवरको उपचारका लागि अझै सहयोग आवश्यक रहेको बताउँदै परिवारले सबै मनकारी व्यक्ति, संघसंस्था र शुभचिन्तकहरूलाई सहयोगका लागि अगाडि आउन क्लबका अध्यक्ष सुर्य कुँवरले हार्दिक अपिल गरेका छन् ।

