अर्घाखाँची, असार १४ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका महान व्यक्तित्व जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा अर्घाखाँचीमा भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीद्वारा आयोजित “जननेता मदन भण्डारी र नेपालको लोकतान्त्रिक आन्दोलन” विषयक उक्त कार्यक्रमले भण्डारीको योगदानलाई स्मरण गर्नुका साथै लोकतन्त्र सुदृढिकरणमा सबैको साझा जिम्मेवारीको महत्वलाई उजागर गरेको छ।
फाउन्डेशनका संयोजक श्रीकृष्ण भुसालको अध्यक्षता तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य जनार्दन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा जननेता भण्डारीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो भने बरिष्ठ कम्युनिष्ट नेत्र ढुंगाना, लिलामणि ढुंगाना र विद्यार्थी नेता विराज मुखियालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनार्दन खनालले भण्डारीको “जनताको बहुदलीय जनवाद (जवज)” को सिद्धान्तले मुलुकको लोकतान्त्रिक यात्रा सशक्त बनाएको उल्लेख गर्दै सहमति, सहकार्य र सहअस्तित्वको बाटोबाट मात्र मुलुकमा स्थायी शान्ति र समृद्धि सम्भव हुने बताए।
यस्तै, विभिन्न दलका नेताहरु – कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका ठाकुर सौराग, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका गोविन्द के.सी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका बुद्धि गैरेलगायतले आ-आफ्ना धारणा राख्दै मदन भण्डारीको राष्ट्रप्रेम, लोकतन्त्रप्रतिको प्रतिबद्धता र विचारको गहिरो स्मरण गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रीकृष्ण भुसालले सहभागीहरुको बहस र सुझावलाई समेट्दै अवधारणापत्रलाई अझ परिमार्जित गरेर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालको राजनीतिमा परिवर्तनका अग्रदूतका रूपमा चिनिने जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्ने यो कार्यक्रमले लोकतान्त्रिक आन्दोलनको यात्रालाई अझ सशक्त बनाउन प्रेरणा मिलेको एमाले युवा नेता प्रेमनारायण गैरेले बताए । मदन भण्डारीको आदर्श, राष्ट्रप्रेम र लोकतन्त्रप्रतिको दृढ अडान आज पनि नेपालका सबै दल र नागरिकका लागि प्रेरणा बनेको छ।
सम्झनामा राजनेता मदन भण्डारी :
जननेता मदन भण्डारी नेपालका एक प्रखर राजनीतिज्ञ, दूरदर्शी विचारक तथा लोकतान्त्रिक आन्दोलनका स्तम्भ नेता हुन्। उनको जन्म वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो। उनी नेपाल कम्युनिष्ट आन्दोलनका कुशल रणनीतिज्ञ तथा जनताको बहुदलीय जनवाद (जवज) को प्रवर्तकका रुपमा चिनिन्छन्।
जनताको बहुदलीय जनवाद (जवज):
मदन भण्डारीले २०४९ सालमा “जनताको बहुदलीय जनवाद” को अवधारणा प्रस्तुत गर्दै नेपालमा कम्युनिष्ट विचार र बहुदलीय प्रजातन्त्रबीचको सन्तुलन स्थापना गरे। यो सिद्धान्तले नेपालमा बहुदलीय व्यवस्थाभित्र रहेर पनि समाजवादउन्मुख राजनीति गर्ने मार्गचित्र तयार पारेको हो। उनले “लोकतन्त्रको संरक्षण बिना समाजवाद सम्भव छैन” भन्ने धारणा स्थापित गरे।
लोकप्रियता र नेतृत्व:
मदन भण्डारीको व्यक्तित्व सरल, मृदुभाषी र संगठनात्मक क्षमतामा असाधारण थियो। उनले दलित, महिला, मजदुर, किसान लगायत वञ्चित वर्गको पक्षमा आवाज उठाउँदै राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरे। २०४८ सालको आमनिर्वाचनमा तत्कालीन एमालेको ऐतिहासिक सफलता पनि उनको कुशल नेतृत्वकै परिणाम मानिन्छ।
जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा जिल्ला लगाएत देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।