दाङ – नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छन्।
दाङको लमहीमा सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा, पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उनलाई पार्टीमा स्वागत गरेकी हुन्।
सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत रहेकी काफ्ले रुपन्देहीकी सक्रिय महिला नेतृको रूपमा परिचित छिन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको उपस्थितिमा प्रवेश कार्यक्रम सम्पन्न भएको हो।
बैठकमा अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले गरेका छन् भने प्रमुख आतिथ्य पद्मा अर्याल रहेकी छन्। बैठकमा मनोनीत सदस्यको शपथ, अन्तरपार्टी निर्देशन १२ को अध्ययन, सचिवालयका निर्णय अनुमोदन, वार्षिक कार्ययोजना २०८१ को समीक्षा र २०८२ को प्रस्ताव, टोल तथा वडा अभियानको निरन्तरता, साथै विधान महाधिवेशनको तयारीलगायत विषयमा छलफल भइरहेको बताइएको छ।