काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गरिएको विकास निर्माण र राजनीतिक निर्णयबारे एक जेन-जीसमूहले विस्तृत सूची सार्वजनिक गरेको छ। उनीहरूले सुरुङ मार्ग निर्माणदेखि भूकम्पपछिको पुनर्निर्माणसम्मका थुप्रै काम ओलीकै पहलमा सम्पन्न भएको दाबी गरेका छन्।
समूहका अनुसार काठमाडौं उपत्यकामा पुनर्निर्माण गरिएका संरचना, धरहरा, रानीपोखरी, बसन्तपुर क्षेत्रका सुधारदेखि भारतसँगको नाकाबन्दी सामना गर्न देखिएको नेतृत्वसमेत ओलीकै पक्षमा देखिन्छ भनेर उनीहरूले टिप्पणी गरेका छन्।
नेपाल–भारत सीमा विवादपछि जारी गरिएको नक्सा, चीनसँगको व्यापारिक नाका सञ्चालन, रेलमार्ग सञ्चालन, अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण, स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा योजना, उद्योग क्षेत्र विस्तार, पेट्रोलियम पाइपलाइन तथा ऊर्जासम्बन्धी परियोजनाहरूलाई पनि उनीहरूले ओली सरकारको प्रमुख उपलब्धि मानेका छन्।
समूहले विप्लव समूह र CK राउतसँगको वार्ताबाट शान्ति प्रक्रियामा आगमन, राष्ट्रिय स्वाभिमानको कुटनीति, खेलकुद विकासका काम, मध्यम पहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको आरम्भ, गेटा मेडिकल कलेजको संरचना, सुनकोसी–मरिन डाइभर्सन जस्ता परियोजनालाई पनि ओलीकै पहलमा अघि बढाइएको दाबी गरेको छ।
यी सबै दाबीहरू समर्थकहरूको मूल्याङ्कन भएको उल्लेख गर्दै उनीहरूले भनेका छन्, “विकास, राष्ट्रियता र स्थिरताका अधिकांश ठूला निर्णयमा ओलीको भूमिकालाई नकार्न सकिँदैन।”

