दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशवासी र सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका छन्।
शनिबार जारी सन्देशमा उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको देश भन्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको बलियो सन्देश दिने बताए।
मुख्यमन्त्रीका अनुसार जनै पूर्णिमा केवल धार्मिक संस्कार मात्र नभई पारिवारिक सम्बन्धलाई मजबुत बनाउने, परस्पर स्नेह, सम्मान र संरक्षणको भाव फैलाउने अवसर हो। उनले यस्तो पर्वले पारिवारिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको उनले जोड दिए। साथै, लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्परा मार्फत समृद्ध प्रदेश निर्माणको लक्ष्य लिएको पनि उनले स्मरण गराए।

