अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरि प्रसाद भुसालले देशबाहिर रहेका नेपालीहरूलाई चुनावअघि स्वदेश फर्कन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै भुसालले विदेशमा बसेर पनि देश परिवर्तनका लागि निरन्तर साथ, सहयोग र सकारात्मक भूमिका खेलेकोमा आभार व्यक्त गरेका छन्।
दैनिक अध्ययन तथा कामबाट समय निकालेर सामाजिक सञ्जालमा लेखिने विचार, घरपरिवार र समाजमार्फत प्रवाह हुने सन्देशले प्रवासी नेपालीहरूको देशप्रतिको चिन्ता र जिम्मेवारी स्पष्ट भएको उनको भनाइ छ।
उनले देश जिल्ला र समाजको हितका लागि विवेकपूर्ण ढंगले सक्रिय भूमिका निर्वाह गरेकोमा कृतज्ञता व्यक्त गर्दै सकेसम्म चुनावी मितिभन्दा अगावै आफ्नो जन्मभूमि फर्कन अनुरोध गरेका छन्। आजको अवस्थामा देशलाई प्रवासी नेपालीहरूको उपस्थिति अत्यन्त आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
भुसालले यस पटक थप सहयोगको अपेक्षा गर्दै अर्घाखाँची जिल्ला तथा देशका विभिन्न शहरमा रहेका साथीहरू सबै एकजुट भएर ‘घन्टी’ चिन्हमा मतदान गरी देश निर्माणमा योगदान दिन आग्रह गरेका छन्। आफू केवल रास्वपाको प्रतिनिधि मात्र नभई आम नागरिकका विचारको प्रतिनिधि भएको दाबी पनि गरेका छन्।
निर्वाचित भएमा प्रतिनिधि सभामा पुगेर नीति निर्माणको तहबाट जिल्लाका समग्र समस्याको समाधानका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्त्यमा अर्घाखाँचीबाट रास्वपालाई जिताउन महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताएका हुन् ।

