काठमाडौं । चर्चित लोकदोहोरी गायक मणिराम कुँवरले नयाँ लोकदोहोरी कोसेली “पिरै पिरको पर्खाल” सार्वजनिक गरेका छन्।
आजको समाजमा रोजगारी र उज्ज्वल भविष्यको खोजीमा हजारौं नेपाली युवायुवती परदेशिन बाध्य छन्। यही यथार्थलाई गीतमार्फत उजागर गरिएको छ। गीतले परदेशले सबैलाई सुख र समृद्धि मात्र नदिने, बरु कतिपयको हाँसो, समय र परिवारसमेत खोस्ने कटु यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। परदेशको बाध्यता वृद्ध आमाको पीडा र छोराछोरीको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतमा वृद्ध आमाले आफ्ना सन्तानको प्रतीक्षा गरिरहँदा भोग्नुपरेको एक्लोपन, परदेशिएका छोराछोरीले भोग्नुपरेका संघर्ष र पारिवारिक विछोडका भावनात्मक पक्षलाई समेटिएको छ। कथावस्तु र शब्द संयोजनले धेरै नेपाली परिवारको वास्तविक कथा बोलेको अनुभूति गराउने देखिन्छ।
गीतमा मणिराम कुँवरसँगै चर्चित गायिका देवी घर्ती मगर र शान्तिश्री परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत मणिराम कुँवरकै रहेको छ भने एरेन्ज पनि उनैले गरेका छन्। गीतको रेकर्डिङ सागर बजुरालीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीले गरेका छन्। मालाश्री स्टुडियोमा तयार गरिएको गीतमा रत्न बि.के.को बाँसुरी, पोषण घर्ती मगरको मादल तथा सञ्जीव बराइलीको गिटार वादन रहेको छ।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त बनेको छ। मणिराम कुँवरकै कथामा आधारित भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन्। भिडियोमा बुद्धि तामाङ, स्मारिका ढकाल र हिउँवाला गौतमको अभिनय रहेको छ भने बाल कलाकार आयान्श कुँवर र राजश्री रावलले समेत प्रभावशाली भूमिका निर्वाह गरेका छन्।
दिनेश पराजुलीको छायांकन,मनोज कार्कीको सम्पादन तथा कलरिङ रहेको भिडियोको पोस्ट प्रोडक्सन लुमिनस पोस्टवर्कले गरेको हो। निर्माण व्यवस्थापन अम्मर रावलले गरेका छन्।
सोमबार मणिराम कुँवरको युट्युब च्यानल मार्फत सार्वजनिक भएलगत्तै गीतले सामाजिक सञ्जाल तथा युट्युबमार्फत सकारात्मक प्रतिक्रिया बटुल्न थालेको हो ।
भिडियो:

