काठमाडौं । गत चैत १३ गते बनेको वर्तमान सरकार एकपछि अर्काे विवादमा तानिँदै गएको छ । वर्तमान सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म विवादमा तानिएका छन् ।
वर्तमान सरकारको हनिमुन पिरियड (सय दिन)समेत पूरा हुन नपाउँदै चर्चा भन्दा बढी विवाद हुन थालेको छ । वर्तमान सरकार गठन भएको करिब दुई महिनामा वर्तमान सरकारका दुईजना मन्त्रीले विवादकै कारण पदबाट राजीनामा दिनुपर्याे भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)समेत विवादमा तानिएका छन् ।
आइतबार सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन् । लामो समयदेखि भारतले नेपालको लिपुलेक र कालापानी क्षेत्रमा गरेको हस्तक्षेपका विषयमा नेपाल सरकारको धारणा बुझ्न सांसदले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेकाे भनेपछि उनी विवादमा तानिएका हुन् ।
यही अभिव्यक्ति कारण यतिबेला प्रधानमन्त्री शाह प्रतिपक्षी दलहरूको मात्र नभए सीमाविद्हरुको समेत निशानामा परेका छन् । प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन् । जसका कारण सदन चल्न नसकेर स्थगित भएको छ ।
यस्तै यसअघि गृहमन्त्री सुदन गुरुङले सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक साझेदारी रहेको देखिएपछि मन्त्री बनेको २७ औँ दिनमा पद छाड्नु परेको थियो । उनीमाथि अहिले सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेका छ ।
त्यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएपछि विवादमा तानिएका थिए ।
विवादमा तानिएपछि रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्रीले श्रममन्त्री साहलाई पदमुक्त गरेको थिए । मन्त्री साह मन्त्रालयको कार्यभार सम्हालेको भएको १४ दिनमै बर्खास्तमा परेका थिए ।
वर्तमान सरकारका अन्य मन्त्रीहरू पनि विभिन्न विवादमा तानिएका छन् । रास्वपाका केही मन्त्री र सांसदहरू जग्गा अतिक्रमणको विवादमा समेत मुछिएका छन् । सरकार गठन भएको छोटो समयमै विभिन्न विवादमा तानिँदा वर्तमान सरकार आलोचित बन्न पुगेको छ ।

