नेपाल राज्य संवाददाता
अर्घाखाँची– यतिबेला पालिका भित्रका सबै विकास योजनामा बजेट छुट्टिसक्नुपर्ने हो । तर, छत्रदेव गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ र एमालेबाट निर्वाचित उपाध्यक्ष मनी पन्थीबीचको सामान्य विषयको विवादले गाउँसभा नै बिथोलिएको छ ।जिल्लाका ५ स्थानीय तहले असार ९ र १० गते नै सभा गरेर बजेट सार्वजनिक गरे । तर, छत्रदेव गाउँपालिकाको गाउँसभा हुने टुंगो छैन ।
उनीहरुको कार्यकर्ता गाउँसभाको विषयलाई लिएर सामाजिक सञ्जालमा आरोपप्रत्यारोपमा उत्रिएका छन् । कार्यपालिकामा एमालेको बहुमत रहेको छ ।पालिकाको कामलाई सहजीकरणको लागि गठन हुने विभिन्न छ वटा विषयगत समितिको संयोजक पद आफ्नो पक्षमा पार्न तानातान छ । पालिका अध्यक्ष र उपाध्यक्षले समितिको संयोजक पदलाई मुख्य ठानेर गाउँसभाको बजेटलाई ओझेलमा पारेका छन् ।
आउँदाे आर्थिक वर्षको पालिकाको विकासको लागि विभिन्न योजनामा बजेट छुट्टाउन गर्नुपर्ने गाउँसभालाई गुमराहमा राखेर विकास समिति तान्नमा होडबाजी चलाएर एकअर्काप्रति खुलमखुला आरोपप्रत्यारोप लगाएर जनप्रतिनिधि विरोधमा उत्रिएका छन् । विवाद सतहमा आएपछि आफ्नो पाटीबाट निर्वाचित जनप्रतिनिधिलाई गाउँसभा गर्नतिर भन्दा समितिको संयोजक पद नछाड्दा भन्दै पाटीका नेताले उर्दी जारी गरेपछि विवाद थप उत्कर्षमा पुगेको स्थानीय बताउँछन् ।
छत्रदेव कांग्रेसको भोट बैंक मानिन्छ । उपाध्यक्ष सहित बहुमत सदस्य भएपछि एमालेले यही मौकामा कांग्रेसको संगठन भत्काएर आफ्नो वर्चश्व कायम गर्ने राणनीतिमा रहेको छ । त्यसको लागि दुवै पाटीका शीर्ष नेता सक्रिय छन् । ‘अध्यक्ष, उपाध्यक्ष सहित नेताहरु छलफलमा बसिरहेका छन्, समहति भएपछि बल्ल गाउँसभा होला,’ प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले भने, ‘बेलैमा गाउँसभा नहुँदा बजेटलाई पनि प्रभाव पार्छ । यसले पालिकाको कार्यसम्पादनमा असर पार्छ । कार्यसम्पादनको सूचक अनुसार आउने बजेटमा कमी हुन्छ ।’ गाउँसभा बेलैमा हुन नसक्नु चिन्ताको विषय भएको उनले बताए ।
उपाध्यक्ष पन्थीले कार्यपालिकामा बहुमतको कदर गर्नेपर्ने, बहुमतका आधारमा सबै निर्णय अध्यक्षले मान्नुपर्ने भन्दै लचक हुन सकेकी छैनन् ।
‘अध्यक्षले बहुमतको कदर नगरी आफ्नो ढंगले चल्न खोजेपछि गाउँसभामा उपस्थित नभएको हो,’ उनले भनिन, ‘अध्यक्षले एकलौटी गरे, सोधपुछ गरेनन् । म त मिलेरै जान तयार छु, कहा“ लचिलो हुनुपर्छ हुन्छु तर, अध्यक्षले बहुमतलाई मान्नुपर्छ ।’
पलिका अध्यक्ष र उपाध्यक्ष मिल्न नसक्दा दलीय हस्तक्षेप भएको छ । कांग्रेस र एमालेका नेताहरु समिति संयोजक पद, बजेटका विषयमा बैठक बसेर छलफल गरिरहेपछि टुंगोमा पुग्न सकेका छैनन् । दलका नेताले हस्तक्षेप गर्दा पालिका अध्यक्ष र उपाध्यक्ष निरीह जस्तै भएको स्थानीय बताउँछन् ।
‘नियम अनुसार नै समितिका संयोजक तोक्दा उपाध्यक्ष सहितका जनप्रतिनिधिले विरोध जनाए, गाउँसभा गरेर बजेट ल्याउ भन्दा पनि अवरोध कायमै रहयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘पालिकामा बहुमत र अल्पमत भन्दा नियम जे छ त्यही अनुसार चल्ने हो । गाउ“सभा रोकेर एमालेका जनप्रतिनिधिले राम्रो गरेनन् ।’ उनले आफु सहमति गरेरै बजेट ल्याउन तयार रहेपनि बहुमत र अल्पमतको दम्भ देखाएर भाँड्न खोजेको बताए ।
छ वटा विकास समिति मध्ये एमालेको बहुमत भएकाले सामाजिक विकास समिति सहित चार वटा समितिको संयोजक पद एमालेले पाउनुपर्छ भनेर छलफल गरिरहेको एमाले छत्रदेवका अध्यक्ष रामजी पाण्डेले बताए । ‘पालिका अध्यक्षले बहुमतको कदर गर्नुपर्छ, दलीय रुपमा छलफल गरिरहेका छौं, छिटै टुंगेला,’ उनले भने, ‘बजेटमा हाम्रो असहमती छैन । विकास समिति छ वटा मध्ये चार वटा हामीलाई चाहिन्छ, यसमा पालिका अध्यक्ष सहमत हुनुपर्छ ।’
पालिका अध्यक्ष श्रेष्ठले छ वटा मध्ये कांग्रेस र एमालेलाई तीन–तीन वटा संयोजक तोकेका थिए । त्यसपछि एमालेले १० गतेको सभा बहिष्कार गरेका थिए ।कांग्रेस छत्रदेव सभापति प्रकाशराज पन्थीले पालिका अध्यक्ष श्रेष्ठले नियमअनुसार प्रस्ताव गर्दा एमालेले बहुमत र अल्पमतको कुरा उठाएर बिथोल्न खोजेको बताए । ‘कांग्रेस र एमालेबीच छलफल चलिरहेको छ, गाउँसभा गर्न छिटै सहमति जुट्ला,’ उनले भने, ‘समिति संयोजक भन्दा बजेट ठूलो कुरा हो । एमालेले बहुमतको अडान छाडनुपर्छ, कुरा मिल्छ ।’