अर्घाखाँची । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटमा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल अत्यधिक बहुमतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
अध्यक्ष भुसालले सबैभन्दा धेरै ३ हजार १ सय ८७ मत लिएर दमदार जित निकाल्दै आफ्नो संगठनात्मक पकड फेरि बलियो प्रमाणित गरेका हुन् ।
जिल्लामा खानेपानीको निर्वाचन सकिएपछि एमाले भित्र–बाहिरबाट उनलाई हराउन धेरै प्रयास भए, तर ती सबै योजना असफल भएको भुसालका नजिकका आफ्नहरूले बताउँछन्।
संस्थापन पक्षबाट वसन्तकुमार श्रेष्ठले २ हजार ८ सय ४१ मत ल्याएर दोस्रो स्थान कायम गरेका छन् । यसैगरी शम्भुप्रसाद पोखरेल, रेशम थापा, तेजप्रसाद खनाल र कमलप्रसाद घिमिरे पनि विजयी भएका हुन् ।
खुला महिलातर्फ दीपा आचार्यले ३ हजार ५७ मत ल्याएर प्रथम भएकी हुन् । यसैगरी सुष्मा श्रेष्ठ, विष्णुमाया आचार्य र लक्ष्मी गौतम विजयी भएका छन् । तोझबहादुर रायमाझी, दलिततर्फ लिलबहादुर विक र आशा परियार भने निर्विरोध बने, जसले जिल्लामा संस्थापन पक्षको बलियो प्रभाव देखायो।
सर्वसम्मत गराउने प्रयास असफल भएपछि शनिबार भएको प्रतिस्पर्धात्मक निर्वाचनले अर्घाखाँचीमा संगठन कुन दिशातर्फ उभिएको छ भन्ने स्पष्ट संकेत पनि दिएको एमाले अर्घाखाँचीका नेता बताउँछन्।

