अर्घाखाँची । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गरिएको प्राइमरी जनमत सर्बेक्षणले नेपाली कांग्रेसभित्र नयाँ सन्देश दिएको छ। कांग्रेसबाट उम्मेदवारको आकांक्षा राखेका नेताहरू मध्ये सर्वाधिक मत ल्याउन सक्ने उम्मेदवारका रूपमा विष्णुप्रसाद खनाल (मुस्कान) अगाडि देखिएका छन्।
सर्बेक्षणअनुसार ९२ प्रतिशत मतदाताले खनालले निर्वाचन जित्ने स्पष्ट मत व्यक्त गरेका छन्। यसले कांग्रेसभित्र मात्रै होइन, समग्र जिल्लाको राजनीतिक वातावरणमा समेत चर्चा बढाएको छ।
खनाल लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय छन्। शिक्षकको स्थायी जागिर त्यागेर पूर्ण रूपमा राजनीतिमा होमिएका उनी निरन्तर गाउँगाउँमा बसेर जनताका समस्या समाधानमा खटिँदै आएका नेता मानिन्छन्। पार्टी संगठन निर्माणदेखि जनताको दैनिक दुःख–सुखसम्म उनको सक्रियता देखिन्छ।
व्यक्तिगत मत तान्न सक्ने प्रभावशाली क्षमता, सरल स्वभाव र घरदैलोमा पुग्ने शैलीका कारण उनी जिल्लामा लोकप्रिय छन्। सर्वदलीय बैठकदेखि प्रदेश र संघ सरकारसँग समन्वय गरेर जिल्लाका विभिन्न योजनामा बजेट सुनिश्चित गराउन खेलेको भूमिकालाई पनि मतदाताले सकारात्मक रूपमा लिएका छन्।
जनमत सर्बेक्षणको नतिजाले अर्घाखाँचीमा कांग्रेसको उम्मेदवार छनोटमा मुस्कान बलियो दावेदारका रूपमा उभिएको संकेत गरेको छ। अब पार्टीको औपचारिक निर्णयले यस सर्बेक्षणको संकेतलाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढ्दै गएको छ।

