काठमाडौं । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्र नजिक सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् र मानिसहरू पुरिएको आशंकामा उद्धार कार्य जारी छ।
भूकम्पपछि करिब १ मिटर अग्लो सुनामी छाल तटीय क्षेत्रमा पुगेको थियो। सराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ भने अन्य स्थानमा पनि थप मानवीय क्षति भएको छ।
सबैभन्दा बढी प्रभावित जनरल सान्तोस शहरमा भवनहरू ढलेका छन्, विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ र १७ आन्तरिक उडान रद्द भएका छन्। भूकम्प समुद्रमा, मिन्डानाओ टापु नजिक करिब ३३ किलोमिटर गहिराइमा केन्द्रित भएको थियो।
अधिकारीहरूले परकम्पको जोखिमका कारण क्षतिग्रस्त भवनमा नजान आग्रह गरेका छन्। अमेरिका, फ्रान्स, जापान र न्युजिल्यान्डले फिलिपिन्सलाई सहयोग गर्न तत्पर रहेको बताएका छन्।

