चितवन । प्रतिनिधिसभा निर्वाचनका क्रममा झापा क्षेत्र नम्बर ५ र चितवन क्षेत्र नम्बर २ बीच नेपाली कांग्रेस र नेकपा एमालेबीच अनौपचारिक चुनावी सहकार्य भएको दाबी सार्वजनिक भएको छ। स्रोतका अनुसार दुई दलबीच एकअर्कालाई रणनीतिक रूपमा सघाउने समझदारी बनेको थियो।
झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह (बालेन) बीच कडा प्रतिस्पर्धा छ। विभिन्न चुनावी विश्लेषणहरूमा बालेनको स्थिति बलियो देखिन थालेपछि ओलीलाई सुरक्षित बनाउन कांग्रेस–एमालेबीच सहकार्य भएको एमालेका नेताहरुले नै बताएका छन् ।
यस सहकार्यको केन्द्रमा चितवन–२ रहेको बताइन्छ। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल प्रतिस्पर्धामा छन्। स्थानीय राजनीतिक समीकरणअनुसार एमालेको मत कांग्रेसतर्फ सरेमा खरेलको जित सम्भव हुने आँकलन गरिएको थियो।
त्यही आधारमा चितवन–२ मा एमाले समर्थक मत कांग्रेस उम्मेदवारतर्फ सार्ने र झापा–५ मा ओलीलाई जिताउन सहयोग गर्ने सहमति बनेको दाबी गरिएको छ।
चितवन–२ का उम्मेदवार अस्मिन घिमिरेका अनुसार फागुन २० गते मध्यराततिर एमाले अध्यक्ष ओलीले आफूलाई सम्पर्क गर्ने प्रयास गरेका थिए। प्रत्यक्ष संवाद हुन नसकेपछि जिल्ला तहबाट सन्देश पठाउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको थियो।
चितवन २ का एमाले उम्मेदवार घिमिरेले आफु देखाउनका लागि मात्रै उम्मेदवारका रुपमा खडा भएको उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार आफु सहित चितवन एमालेले कांग्रेस उम्मेदवार मिना खरेललाई भोट हालेको बताएका हुन् । उनले भने, ‘चितवन २ मा कांग्रेस र झापा ५ मा एमालेलाई सघाउने समझदारी बनेको थियो ।’
मतदानको दिन बिहान भने ओलीले आफैँ सम्पर्क गरेर चुनावी अवस्था बुझ्न खोजेको घिमिरेले बताए। आफूले पहिलेको भन्दा राम्रो मत आउने सम्भावना रहेको बताएपछि ओलीले ‘यो पटक चितवन कांग्रेसलाई छोडिदिने’ भन्दै आग्रह गरेको उनको भनाइ छ।
एमाले स्रोतका अनुसार झापा–५ लाई ओलीका लागि जोखिमपूर्ण क्षेत्र मानिएकाले त्यहाँको प्रतिस्पर्धालाई प्राथमिकता दिँदै चितवन–२ मा कांग्रेस उम्मेदवारलाई सघाउने रणनीति अपनाइएको थियो।
ओलीसँगको संवादपछि घिमिरेले मतदान केन्द्रमै पुगेर आफ्ना प्रतिनिधिमार्फत समर्थकहरूलाई आफूलाई दिने मत कांग्रेस उम्मेदवार मीनाकुमारी खरेललाई दिन आग्रह गरेको बताइएको छ। स्थानीय नेताहरूका अनुसार सो निर्देशनपछि एमाले समर्थक मतदातामध्ये उल्लेख्य मत कांग्रेस उम्मेदवार खरेलको पक्षमा गएको दाबी गरिएको छ।

