अर्घाखाँची । अर्घाखाँचीका समाजसेवी तथा नेपाली कांग्रेस नेता मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रित भई पुलबाट खोल्सामा खस्दा ८० वर्षीय पौडेलको घटनास्थलमै निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार कार चालक तथा पौडेलका छोरा हरिशचन्द्र पौडेल घाइते भएका छन्। उहाँको अवस्था सामान्य रहेको र पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कारमा बाबु–छोरा मात्र सवार रहेको र दुर्घटना सुनवल नगरपालिका–१३ सूर्यबस्ती नजिकै भएको प्रहरीले जानकारी दिएको छ।

