दाङ । दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको स्थायी बासिन्दा भएको भन्दै सिफारिस गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडाध्यक्ष अहिरसहित चार जनालाई सोमबार नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्ने अन्यमा वडा सचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी तथा भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा रहेका छन्।
प्रहरीले चारै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

