नेपाल राज्य संवाददाता
अर्घाखाँची– चुनावका दिन हरेक मतदाताले ढुंगसँग मतदान स्थलमा पुगेर मत खसाल्न पाउने ग्यारेन्टी प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले गरेका छन् । मतदातालाई सुरक्षा दिन गाउँमा व्यापक सुरक्षाकर्मी परिचालन भएको छ ।
‘मतदानको अघिल्ला दिनमा मतदाताको घरमा गएर कसैले जबरजस्ती गर्ने, धम्क्याउने, मतदानस्थलमा जाँदा बाटोमा गौडा ढुक्ने, हप्काउने र बलपूर्वक भोट हाल्न बाध्य पार्ने जस्ता कार्य कसैले गर्न पाउँदैन,’ उनले भने, ‘सबै मतदातालाई सुरक्षा दिन्छौं । घरबाट मतदान स्थल पुगेर आफुले इच्छाएको उम्मेदवारलाई भोट दिन पाउने व्यवस्थाको लागि सबै सुरक्षा व्यबस्था हुन्छ ।’ उनले अर्घाखाँचीका सबै मतदातालाई विश्वस्त हुन अनुरोध गरेका छन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने उनले बताए ।
प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जिल्लाका आठ स्थानमा अहिले नेपाली सेना गएर बसिसकेको बताए । सादा पोशाकमा प्रहरीमा गाउँमा खटिएको छ । मतदातालाई कसैले धम्क्याउने, होहल्ला गर्ने र जबरजस्ती मत हाल्न बाध्य पार्ने कार्य कसैले गर्न नपाउने उनले बताए । ‘मतदानको दिन तीन घेरामा मतदान स्थल रहन्छ,’ उनले भने, ‘पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहन्छन् । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउने हो ।’
सबैले मतदान गर्न पाउने वातावरणको लागि सुरक्षा व्यवस्था कडा पारिएको रिजालले बताए । जिल्लामा एक हजार एक जना म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लामा १ लाख ६४ हजार ७ सय २८ मतदान रहेका छन् । ९७ स्थलका २ सय ३ मतदान केन्द्र रहेका छन् ।