काठमाडौँ — आफ्ना मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय २१ दिनपछि कार्यान्वयन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका नयाँ मन्त्री समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।
बजेट पारित नभएको भन्दै प्रधानमन्त्री देउवाले झुलाएको र मन्त्रीहरूले पनि पद छाड्न आनाकानी गरेका कारण एकीकृत समाजवादीको निर्णय लामो समय अलपत्र परेको थियो । अध्यक्ष माधवकुमार नेपालले आफ्नै मन्त्री फिर्ता गराएर नयाँ नियुक्त गर्न तीन साता कसरत गर्नुपरेको थियो ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन् । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीको शपथ सोमबार गर्ने तयारी छ ।
एकीकृत समाजवादीको जेठ २२ मा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीसमक्ष मन्त्रीका नयाँ नाम सिफारिस गरेको थियो । संसद्मा आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्रीले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय थाती राखेका थिए । लामो समय आफूले सिफारिस गरेका मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीको आलोचना गरेको थियो । बैठकले तत्काल मन्त्री हेरफेर नगरे आफूहरूले अपमानका रूपमा बुझ्ने चेतावनी दिएको थियो । समाजवादीले चेतावनी दिएको २४ घण्टामै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
पर्यटनमन्त्री नियुक्त भएका श्रेष्ठ एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक हुन् । ०४२ मा नेकपा (माले) को वडा सचिवबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं ८ मा निर्वाचित भएका थिए । उनी ०५३ देखि ०६३ सम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव थिए । अहिले एकीकृत समाजवादीका सचिव हुन् । उनी पहिलो पटक मन्त्री भएका हुन् ।
सहरी विकासमन्त्री चौधरी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् । उनले ०४५ मा मालेबाट राजनीति सुरु गरेका थिए । उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट दाङ १ मा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पनि पहिलो पटक मन्त्री भएका हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ यसअघि राज्यमन्त्री थिए । उनी ०४० मा माले हुँदै पछि एमालेमा आबद्ध भएका हुन् । एकीकृत समाजवादीमा उनी पोलिटब्युरो सदस्य छन् । उनी संविधानसभा सदस्य निर्वाचन ०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७४ मा पनि तेह्रथुमबाट निर्वाचित भएका थिए । श्रममन्त्री कुँवर गैरसांसद हुन् । राष्ट्रिय सभा सदस्य रहेका कुँवरको गत फागुनमा कार्यकाल सकिएको थियो ।
०३८ सालमा अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका उनी एमालेका तर्फबाट ०६४ को संविधानसभा सदस्य निर्वाचनमा अछाम १ मा निर्वाचित भएका थिए । राज्यमन्त्री केसी प्रतिनिधिसभा निर्वाचन ०७४ मा दाङ ३ बाट निर्वाचित भएका थिए । उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
सकसपूर्ण बिदाइ
झन्डै तीन साताको रस्साकसीपछि एकीकृत समाजवादीका चार मन्त्री सरकारबाट बाहिरिएका छन् । यसबीचमा पदको निरन्तरताका लागि उनीहरूले धेरै कसरत गरे । उनीहरूले पार्टी निर्णयलाई केही समय चुनौती दिए तर पार्टी झन् कठोर बनेपछि बाध्य भएर पद छाड्न राजी भए । त्यसैले उनीहरूको पार्टीभित्र संघर्ष र बिदाइ दुवै सकसपूर्ण बन्यो ।
आफ्ना मुद्दाहरू राख्ने मामिलामा आक्रामक र लडाकु छवि बनाएकी निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्री आइतबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा भावुक बनिन् । पत्रकारसँग सवालजवाफ गरिनन् । पटक–पटक उनका आँखा रसाए । हाँस्न खोजिन् र आफूलाई सम्हाल्ने कोसिस गरिन् तर कार्यक्रम सकिने बेलासम्म पटक–पटक आँसु पुछिरहिन् । पत्रकार सम्मेलनमा हाँस्ने कोसिस गरिन् तर त्यो कृत्रिम देखियो । झाँक्रीको यही असहजता बुझेर होला सहरी विकास मन्त्रालयले पनि कार्यक्रमको नाम बिदाइ होइन, ‘फेरि भेटौंला’ राख्यो । राजनीति गर्नेहरूका लागि पद आउने–जाने नियमित प्रक्रिया हो तर नयाँ राजनीतिक शक्ति सन्तुलन र गठबन्धन समीकरणमा पहिलो पटक मन्त्री बनेकी झाँक्रीले पद छाड्न धेरै असहज महसुस गरिन् । पत्रकारका प्रश्नमा उनी ‘अलि रिस उठ्ने प्रश्न गर्नॅस्, त्यसो भयो भने बोल्न सक्छु’ भन्दै सम्हालिन खोजिन् तर सकिनन् । पत्रकारका अन्य केही प्रश्नको जवाफ दिने कोसिस पनि उनले गरिन् । नौ महिने कार्यकालमा राम्रो काम गरेको भए पनि अपमानजनक ढंगले बाहिरिनुपरेको झाँक्रीको अभिव्यक्तिले बताउँथ्यो । पीडा मिश्रित छोटो सम्बोधन गरिन् । उनले छाड्नुपर्ने कारण र पृष्ठभूमि संक्षेपमा राखिन् ।
बजेटबारे छलफल चलिरहेका बेला पार्टीले फिर्ता बोलाउने निर्णय गरेको जानकारी मिडियामार्फत पाएको भन्दै उनले त्यसपछिका घटनाबारे प्रस्ट पार्न खोजिन् । पार्टीको निर्णय सार्वजनिक भएपछि नैतिक रूपमा काम गर्ने वातावरण नभएकाले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले बजेटसम्म काम गर्नॅहोस् भन्नुभयो, मुख्यसचिवलाई काम गर्ने वातावरण बनाउन भन्नुहोस् भनेर निर्देशन दिनुभयो,’ झाँक्रीले भनिन् । उनले बजेटको प्रतिवाद रहर भएको हुँदा समय मागेको बताइन् । मुस्कानका साथ मन्त्रालय सम्हालेकी झाँक्री आँसु झार्दै बाहिरएपछि सामाजिक सञ्जालमा दुईथरी टिप्पणी भएको छ । एकथरीले हाँस्नु र रुनुलाई सामान्य मानवीय स्वभाव भनेका छन् भने अर्काथरीले नकारात्मक टिप्पणी गरेका छन् ।
निवर्तमान पर्यटनमन्त्री प्रेम आले पनि पत्रकार सम्मेलन गरेर बिदा भए । उनमा पनि ठूलो उत्साह थिएन । पद छाड्नुपर्दाको अस्वाभाविक पीडा झल्कन्थ्यो । उनले आफैंलाई १०० मा ९० नम्बर दिएर उत्कृष्ट काम गरेको घोषणा गरे । ‘मलाई कोही पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्नुभयो भने मेरो उत्तर हुनेछ– ९० प्रतिशत,’ उनले भने । आलेले यसबीचका कैयौं विवादलाई जान–अन्जानमा भएका गल्तीका रूपमा स्वीकार गरे र माफी पनि मागे । ‘काम गर्ने क्रममा मैले गल्ती बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला, त्यस्ता त्रुटिबाट सचेत रहनेछु, मैले कहिल्यै पनि दुईथरी कुरा गरेको छैन,’ उनले भने, ‘जहिले पनि एउटै कुरा गरें । मन्त्रीबाट बाहिर गएपछि सांसदका रूपमा रहने र विकृतिका विरुद्ध आवाज उठाइरहनेछु ।’
निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले राष्ट्रिय सभामा जवाफ दिन पनि पाएनन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उनी स्वतः पदमुक्त भएका छन् । झाँक्री र आलेले जसरी खतिवडा आइतबार मिडियामा सार्वजनिक भएनन् । निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भने बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिन भ्याए । उनी पनि आइतबार मिडियामा सार्वजनिक भएनन् ।
प्रधानमन्त्री देउवाले असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए । एकीकृत समाजवादीले सुरुमै ६ महिनाका लागि भनेर मन्त्री पठाएको थियो, जसअनुसार चैतमा मन्त्री फिर्ता आउने बताइएको थियो । तर, स्थानीय तह निर्वाचन र पछि नयाँ आर्थिक वर्षको बजेटका कारण उनीहरूले करिब ९ महिना मन्त्रीका रूपमा काम गरेका छन् ।