अर्घाखाँची, ९ साउन – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष शम्भु पोख्रेलले हालै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले नाम नखुलाइकन पूर्व एमालेका एक नेताप्रति कटाक्ष गर्दै पार्टी सदस्यता नै नभएको व्यक्तिले नेतृत्वको दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
पोख्रेलले भनेका छन्, “दश वर्ष पहिले एमालेको साधारण सदस्य समेत त्यागेर राज्यको सबैभन्दा माथिल्लो निकायमा दुई–दुई पटक बिराजमान भइसकेका माननीय अहिले पार्टीको नेतृत्व गर्न पाइँन भनेर पत्रकार सम्मेलन गर्न लागेका छन्। यो कुरा आफैमा हास्यास्पद छ।”
उनले उक्त पत्रकार सम्मेलनमा सहभागी हुने सबैजना एमाले बाहिरका मात्र हुने दाबी गर्दै, “एमालेको सदस्य नरहेको व्यक्तिको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेहरु पनि गैर-एमालेहरु मात्र हुनेछन्,” भनेर लेखेका छन्।
पोख्रेलको टिप्पणीमा थप भनिएको छ, “तिम्रा षड्यन्त्र पार्टीले समयमै बुझेको छ। गोहीको आँसुको अब कुनै अर्थ छैन।”
एमाले अर्घाखाँचीमा पछिल्ला दिनमा पार्टीभित्रका गुटगत गतिविधि तथा असन्तुष्टि सतहमा आउन थालेका छन्।

