श्याम घिमिरे,जेठ २३ अर्घाखाँची ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, अर्घाखाँची जिल्ला कार्य समितिको आयोजनामा “प्रथम अर्घाखाँची लोकतारा अडिसन प्रतियोगिता–२०८३”सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष बलबहादुर रायमाझीका अनुसार अडिसन प्रतियोगिता भोली (जेठ २४ गते) सन्धिखर्क ९ को अर्घामा रहेको मसुरपाटामा आयोजना गरिनेछ । प्रतियोगितामा जिल्लाभरबाट करिब २५ जना कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
अडिसनमा प्रत्यक्ष लाइभ म्युजिकको व्यवस्था गरिने बताइएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रतिभाको छनोट गरी विजेतालाई “जिल्ला लोकतारा” घोषणा गरिने आयोजकले जनाएको छ ।
स्थानीय कला, संस्कृति तथा लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रायमाझीले जानकारी दिनुभएको छ ।

