अर्घाखाँची । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीमा पिताम्बर भुसाललाई उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो।
एमालेले गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णयअनुसार देशभर उम्मेदवार टुंग्याउने क्रमलाई तीव्र बनाएको हो । अर्घाखाँचीमा भुसालको उम्मेदवारी सार्वजनिक भएसँगै जिल्लाको चुनावी माहोल थप तातेको बुझिएको छ ।
छिमेकी जिल्ला गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण बिष्टलाई उम्मेदवारका रूपमा अगाडि सारिएको छ भने प्युठानमा सूर्य थापालाई अघि बढाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागिएको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार पार्टीले संगठनात्मक तयारी, स्थानीय अवस्था र जित सुनिश्चित हुने आधारलाई ध्यानमा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो ।

