बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सारिने भएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका उनले सुरक्षा अभाव भएको भन्दै कारागार विभागमा निवेदन दिएका थिए। त्यसपछि विभागले शुक्रबार सरुवा गर्ने निर्णय गरेको हो।
लामिछानेलाई आज (शनिबार) दिउँसो ३ बजे बुद्ध एयरमार्फत काठमाडौं ल्याइने र नख्खु कारागारमा राखिने जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ। केही दिन अघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा असुरक्षित रहेको बताएका थिए।
उनी काठमाडौं आउने खबरसँगै पत्नी निकिता विमानस्थल पुग्ने तयारीमा छिन् भने समर्थकहरू पनि स्वागतका लागि विमानस्थल जाँदै छन्। रास्वपाले भने लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखिएको दाबी गर्दै हस्ताक्षर अभियान चलाइरहेको रास्वपाले बताएको छ।

