अर्घाखाँची — नेपाली कांग्रेस सन्धिखर्क नगरसभापति बाबुराम भुसालले पद र पार्टी दुवै परित्याग गरेका छन्।
जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा भुसालले हालैको GEN Z आन्दोलनमा समर्थन जनाउने सबै कांग्रेसजनलाई दोषी ठहर गरिनु अन्याय भएको बताएका छन्। त्यही कारण आफूलाई पदमा बसिरहन अनुचित लागेको र अब साधारण सदस्यसमेत नरहने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।
भुसालले राजीनामा पत्रमार्फत कांग्रेस नेताहरुलाई विधानको धारा ५९ अध्ययन गर्न आग्रह गर्दै “भाषण होइन, व्यवहार र जनताप्रतिको कामले मात्र विश्वास जितिन्छ” भनेर सन्देश दिएका छन्।
“यो निर्णय कुनै दलगत प्रभाव वा व्यक्तिगत स्वार्थका कारण नभई आफ्नै स्वेच्छाले गरेको हुँ ” उनले भनेका छन् ।
नयाँ पुस्ताको सोच र दृष्टिले मात्र नेपाललाई भ्रष्टाचारमुक्त, न्यायपूर्ण र समृद्ध बनाउन सकिने विश्वास दोहोर्याउँदै उनले समर्थक र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्।