काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा केपी शर्मा ओलीले फेरि एकपटक निर्णायक जित हात पारेका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमै सीमित भए। कुल खसेको २२२७ मतमध्ये सबै मत गणना सकिएको निर्वाचन समितिले जनाएको छ।
महासचिव पदमा पनि ओली पक्षकै प्रभाव देखिएको छ। शंकर पोखरेलले १२२८ मतसहित महासचिवमा जित हात पार्दा प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत पाए।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङले सबैभन्दा बढी १७३७ मत प्राप्त गर्दै अग्रता कायम गरे। विष्णु प्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा ‘बादल’ १५१६ मत र गोकर्णराज विष्ट १३६८ मतसहित निर्वाचित हुने सूचीमा परे।
उपमहासचिवमा लेखराज भट्टले १४५२ मतसहित बलियो उपस्थिति जनाए भने रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मतसहित सफल भए।
सचिव पदमा पद्मा कुमारी अर्याल, महेश बस्नेत, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारीलगायत नेताहरू उच्च मतका साथ निर्वाचित भएका छन्।
यस निर्वाचन परिणामले एमालेभित्र ओलीको नेतृत्वमाथि पार्टी पंक्तिको स्पष्ट विश्वास दोहोरिएको सन्देश दिएको छ। नेतृत्व चयनसँगै अब पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार सञ्चालनमा एमालेको भूमिकातर्फ चासो बढेको छ।

